चन्द्रपुर, १३ असोज । प्रहरीले ठुलो परिमाणमा बिष्फोटक पदार्थ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सक्रियतामा प्रहरीले करिब १ लाख ६२ हजार बराबरको बिष्फोटक पदार्थ बरामद सहित १ जनालाई पक्राउ गरेको प्रहरीले जनाएका छन् । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका निवासी वडा नं—४ बस्ने २५ वर्षीय संजित साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । मंगलवार बिहान करिब साढे आठ बजेको समयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएका टोलीले पूर्व पश्चिम लोकमार्गमा ग.१ ख ६३४१ नम्बरको यात्रुबस चेक जाँच गर्ने क्रममा सोही बसमा सवार साहबाट बिप्फोटक पदार्थ पटाका फेला पारेका प्रहरीको भनाइ रहेको छ । पटाका अन्दाजी रु. १ लाख ६२ हजार ४ सय ८४ बराबरको रहेको प्रहरीको अनुमान रहेको छ । ठुलो परिमाणमा बिष्फोटक पदार्थ सहित पक्राउ परेका साहलाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लामिछानेले जानकारी दिएका छन् ।