जनकपुर, १३ असोज । हत्या आरोपमा फरार रहेका धनुषाका एक वडाध्यक्षले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । जिल्लाको सबैला नगरपालिका–४ का वडाध्यक्ष कुशेश्वर ठाकुरले आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ गते सडक विस्तारको क्रममा भएको विवादमा सोही ठाउँ बस्ने स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको आरोप लागेका वडाध्यक्ष ठाकुर फरार भएका थिए ।
ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको १० जना आरोपित मध्ये वडाध्यक्ष ठाकुरले शनिबार नै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
सिमासाल खोज्ने क्रममा भएको दुई पक्षबीचको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रन्जित यादवसमेत गम्भीर घाइते भएका थिए । उपचारको क्रममा सुमिन्त्राको मृत्यु भएपछि परिवारले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए ।
मुद्दाको अनुसन्धानको क्रममा गत जेठ १६ गते मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सबैलालाई पठाएका थिए । सबैला प्रहरीमा मुद्दा आइसकेपछि फरार आरोपितमध्ये वडाध्यक्ष ठाकुर स्वयं हाजिर भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख राजेश सिग्देलले बताए ।
प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष कुशेश्वरविरुद्ध ७ दिने म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रमुख सिग्देलले जानकारी दिए ।
यता पक्राउ परेका वडाध्यक्ष ठाकुरले आफू झगडामा सहभागी नरहेको तथा आफै सरकारी वकिलको सल्लाहमा प्रहरीमा हाजिर भएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here