काठमाडौं – ( नेकपा ) एमालेको प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो। छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफल बिहान ८ बजेबाटै सुरु हुने जनाइएको छ। समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा पेस गरिनेछ। तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन्। महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ। पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा ९एकीकृत समाजवादी० पार्टी गठन गरेका बेला देशभरका प्रतिनिधिमुलक कार्यकर्ता बोलाएर एमालेले विधान महाधिवेशन आयोजना गरेको हो। महाधिवेशनमा विगतमा नेता नेपाल निकट रहेका नेता कार्यकर्ताको पनि उपस्थितिले पार्टीमा नयाँस्तरको घुलमिल र एकताभाव देखिएको छ। विधान महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारत गायत प्रवासका संघ संगठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here