वीरगञ्ज, २० असोज । बेचबिखनको लागि भारत लैजाँदै गरेको आशंकामा प्रहरीले एक युवतीलाई पर्साको वीरगञ्ज नाकाबाट उद्धाार गरेको छ। एक भारतीय युवाले प्रेमको नाटक गरेर भारत लैजाँदै गरेको अवस्थामा नुवाकोट घर भएकी २२ वर्षीय युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले भारत जाँदै गर्दा वीरगजञ्ज नाकाबाट उनको उद्धार गरेको हो।
विवाह गर्नेसहितका विभिन्न प्रलोभनमा पारेर ती युवतीलाई भारततिर लैजाँदै गरेका एक भारतीय युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। भारतको पूर्वी चम्पारणको भुलाही घर बताउने ३३ वर्षीय मुन्ना आलमलाई प्रहरीले पक्राउ गरेको हो। आलमविरुद्ध पर्सा जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए।