कृष्ण तिवारी
गरुडा, असोज २५ गते ।
पुर्व शहरी विकास मन्त्री एवं निवर्तमान सांसद प्रभु साहले सरकारको गलत निती नियमका कारण भारतसँग सिमा जोडिएका तराईका नागरिकहरु दुःख भोग्न बाध्य भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता समेत रहेका साहले तस्करीको मालसामान पक्राउ गरे वापत प्रहरीलाई पुरस्कार दिनुपर्ने सरकारी व्यवस्थाको विरोध गरेका छन । हिन्दुहरुको महान पर्व बडादशैं, शुभदिपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिकाको कर्कच, कटहरिया नगरपालिकाको पोखरिया, डुमरिया तथा हथियाहीमा सोमवार आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले तस्करीको मालसामान पक्राउ गरे वापत प्रहरीले पाउने पुरस्कारको व्यवस्थालाई हटाउन माग गरेका छन । हाल प्रहरीले मान्छे सहित तस्करीको माल वस्तु पक्राउ गर्ने गरेको वापत पुरस्कार स्वरुप ३० देखी ४५ प्रतिशतसम्म कमिश्न पाइरहेको बताउँदै नेता साहले प्रहरीले पाउने यस्तो किसिमको कमिश्नको व्यवस्था नै हटाउनुपर्ने धारणा राखेका छन । रौतहटसँग सिमा जोडिएको छिमेकी देश भारतमा कपडा, किराना लगाएत कुनै पनि मालवस्तु अथवा सामान नेपालभन्दा सस्तोमा पाउने गर्छन । भारतमा सस्तो पाउने गरेको हुनाले तराईका अधिकांश गरिव नागरिक थोरै संख्यामा कपडा, किराना लगाएतका सामान भारतिय बजारबाट किनेर नेपालमा ल्याई बेचेर आफना गुजारा चलाउने गरेका छन । तर कमिश्न पाउने लोभमा यहाँका प्रहरीले बलजबरजस्ती तस्करीको सामान भनी पक्राउ गरी तराईका गरिव नागरिकको पेटमा लात हान्ने काम गर्ने गरेको नेकपा नेता प्रभु साहले बताए । आफना दैनिकि चलाउन भारतिय बजारबाट किराना, कपडा, मलखाद्य लगाएतका सामान खरिद गरी ल्याउँदा बोर्डरमा नेपाली सुरक्षाकर्मीले भन्सार छली, तस्करी र अबैध सामान भनी पक्राउ गरी गरिव मजदुरलाई अन्याय गर्नुको साथै अनावश्यक दुख दिने गर्ने गरेको काम आफुलाई स्वीकार्य नभएको उनले बताए । प्रहरीको काम हो शान्ति सुरक्षा गर्ने, सिमाको रक्षा गर्ने तर यहाँका प्रहरीले शान्ति सुरक्षा गर्नेभन्दा बढी कमिश्नको लोभमा गरिव जनताको मालवस्तु तस्करीको भनी समातेर भन्सार कार्यालयमा बुझाउने तिर नै लागेको उनले आरोप लगाए । सामान पक्राउ गर्दा कमिश्न पाउने प्रावधानका कारण प्रहरीले गरिव नागरिकसँग खेलवाड गर्ने काम गर्ने गरेकाले कुनै पनि मालवस्तु अथवा सामान पक्राउ गर्दा प्रहरीलाई कमिश्न दिनुपर्ने व्यवस्था नै खारेज गर्न नेता साहले माग गरे । कार्यक्रमको अन्त्यमा नेता साहले दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहा, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना देवी साह लगाएतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here