भवानीपुर,८ कार्तिक ।
एनआइसि एसिया बैंकले सेवा ग्राहीलाई दुःख दिने गरेको गुनासो बढदै जान थालेको छ । रौतहट जिल्लाका बिभिन्न स्थानमा शाखा रहेको सो बैंकका कर्मचारीले सर्बसाधारणलाई दुख दिनुको साथै गाली गलौज समेत गर्ने गरेको गुनासो बढ्दै जान थालेको छ ।
जिल्लाको गुजरा नगरपालिकामा रहेको एनआइसि एसिया बैंकका कर्मचारीले बृद्ध भत्ता लिन जाने बुढाबुढी माथि अभद्र व्यावहार गर्ने गरेको स्थानीय बासिन्दा जचु चौधरीले तराई एक्सप्रेससंग गुनासो गरे ।
गुजरा नगरपालिकाको सो बैंकमा खाता रहेको र नगरपालिकाले दिने बाल पोषण भत्ता ,बृद्ध भत्ता ,अपाङग भत्ता सोही बैंकबाट बितरण हुदै आएको छ । नगरपालिकाले भत्ता बितरणका लागि वडा अनुसार बार छुट्टाएर बैंकमा सर्बसाधारणलाई जान भने अनुसार आफु बैंकमा जादा बैंकका कर्मचारीले सर्बसाधारणलाई बिभिन्न बाहानामा फर्काउने गरेको अर्का स्थानीय बासिन्दा अनिता श्रेष्ठले गुनासो गरिन् । श्रेष्ठका अनुसार बैंकका कर्मचारीले राम्रो भाषा समेत प्रयोग नगर्ने गरेको र दिनभरी लाईनमा बस्दा समेत ४ बजेपछि बिभिन्न बहाना बनाउदै फर्काउने गरेको छ । एनआइसि एसिया बैंक सिमरा भवानीपुरमा मात्र यस्तो समस्या नभएर अन्यत्र समेत यस्तै समस्या रहेकाले सर्बसाधारणले स्थानीय तहको बैंक खाता सो बैंकबाट हटाउन माग गरेकाछन् । चन्द्रनिगाहपुरमा रहेको सो बैंकको शाखामा समेत सेवाग्राहीसंग राम्रोसंग नबोल्ने झर्केर बोल्ने कर्मचारीका कारण सर्बसाधारण हैरान भएकाछन् । भवानीपुर शाखामा लोन माग्न जादा कर्मचारीले कमिशन माग्ने गरेकाछन् । २०७८ कार्तिक ८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here