सञ्जय साह मित्र

समस्या जताततै छ । जो पनि समस्या छन् । जसलाई पनि समस्याले सताएको छ । समस्याको भूतले सबैलाई तर्साएको छ । जीवन छ भने समस्या छ । सबैले समस्यालाई पन्छाउने प्रयास गरिरहेका छन् तर समस्या भने मानिसलाई पछ्याइरहेको छ । कहिलेकाहीँ समस्यको जुलुसले मानिसलाई लखेटिइरहेको हुन्छ, मानिस भने समस्याबाट आफूलाई बचाउन हो कि लुकाउन मानिस आफै लुक्ने प्रयास गर्छ । समस्याको पहाडलाई पनि मानिसले उछिनेको सुनिन्छ । यथार्थ हेर्दा मानिस आफ्नो पाइलाले समस्याको पहाडलाई कुल्चेर अगाडि बढेको भए पनि पहाडमाथि, उसको पाइलामाथि र शिरमाथि पनि समस्या आइपरेको हुन्छ । मानिसले आफ्नो शिरलाई कुल्चन सक्दैन ।
आफ्नो शिरमाथिको समस्यालाई पन्छाउन त्यत्ति सजिलो हुँदैन । समस्यालाई पन्छाउने प्रयत्नमा र समस्यालाई कुल्चने बाटोको खोजीमा मानिस यतिसम्म थकित हुन्छ कि कहिलेकाहीँ समस्याले आएर मानिसको गोडा मिच्न थाल्छ र अलि सुस्ताउनमा मदत गर्छ ।
यस्तो बेलामा कसैलाई समस्या चाहिँ मित्र भइदिन सक्छ वा मित्रजस्तो लाग्न सक्छ । समस्यालाई पन्छाउने क्रममा कहिलेकाहीँ आफै पन्छिनु पर्ने अवस्था आएको पनि हुन्छ मान्छेका अगाडि ।
समस्याले मानिसलाई नछोडेजस्तै मानिसले पनि समस्यालाई छोड्ने कुरामा उति विश्वास गर्दैन । कतिपय मानिस समस्यालाई खोजी खोजी आफ्नो वा अरुको टाउकोमा लाद्ने काम पनि गर्दछन् । समस्यालाई अरुको टाउकोमा पारेर आनन्दित हुने जीव मानिस नै हो । बूढापाकाले यसैले भनेको हुनुपर्छ कि कतिपय मानिस आफ्नो उन्नति र प्रगतिभन्दा अरुको प्रगतिले दुखी हुन्छ अर्थात मानिस आफ्नो दुखभन्दा अरुको सुखले दुखी हून्छ । हुन पनि हो, बिना काममा नै कसैलाई झुठा मुद्दामा फसाउने र आनन्दित हुने काम मानिसले त्यसै गरेको होइन ।
अरुलाई समस्यामा पारेर त्यसको फाइदा लिने प्रवृत्तिबाट पनि मानिस पछाडि छैन । किन हो कुन्नि मानिसमा यो कस्तो प्रवृत्तिले जरो गाड्दै लगेको छ जो सताउने र समस्यामा पार्ने बरु त्यसको परिणामस्वरुप आफूले पनि दुख पाउने ।
यो प्रवृत्तिले समस्याहरु शिक्षा र चेतनाले घट्दै जानुको साटो दिनप्रतिदिन बढिरहेको देखिन्छ । जसरी दिनप्रतिदिन डाक्टर बढेको छ र रोग, रोगी तथा अस्पतालसमेत बढेका छन् । जुन स्तरमा समस्याको विकास भएको छ, सोही स्तरमा समाधानको विकास हुन सकेको छैन । समस्याले समाधानलाई उछिन्न सकेको छैन ।
समस्यालाई खोज्नेहरु पनि समस्यामा हुन्छन् र समाधानमा रमाउनेहरुले पनि समस्या भोग्नु परिरहेको हुन्छ । कहिलेकाही समस्या नै समस्यामा हुन्छ भने कहिलेकाही समाधान चाहिँ समस्यामा हुन्छ । समस्याले आफूसित समाधान ल्याएको हुन्छ भन्नेहरुको पनि कमी छैन । त्यसैले जहाँ चाह उहाँ राह भन्ने उखानको प्रादुर्भाव भएको हुनुपर्छ । उखानले तत्कालीन परिवेशको बखान गर्छ भन्छन्, त्यो तत्कालीन परिवेशले फेरि समस्या ल्याउँछ । यसको उत्तरमा पनि समस्याको चाङ लाग्न सक्छ । मानिसले यसैकारण समस्यासित पौठेजोरी खेल्न मन पराउँछ कि समस्या नभएको जीवन हुँदैन र समस्यादेखि भाग्नेहरु कहीँ पनि जान सक्दैनन् । समस्याले सताइरहेको व्यक्तिमा साहस र सहनशीलताको विकास हुन्छ, मानिस व्यवहारमा बढी खारिन्छ । जीवनलाई बढी सरल र सुगम बनाउन मद्दत गर्छ । कुनै समस्याबिना नै जीवनलाई पार लगाउन खोज्नेहरु वास्तवमा हारेको जीवन बाँच्न खोज्ने खालका हुन्छन् ।
मानौँ लामखुट्टेले टोक्यो भने किन मार्ने, यो त ईश्वरको अर्को सिर्जना हो र यो मानिसको रगत खाएर मात्र बाँच्न सक्छ तर यस्ता मानिसलाई एक पिन्ट रगत दिएर कुनै विरामीलाई बचाउन भन्यो भने उसले रगत दिन त परै जाओस्, उसको कुरा सुन्न पनि चाहँदैन । समस्या यहीँनेर पनि छ ।
सोचमा समस्या । र जब सोचमा समस्या हुन्छ, जीवन समस्यामुक्त कसरी हुन सक्छ ?
हो, जीवन समस्यामुक्त हुन सक्दैन तर समस्यामा परेर जीवनलाई नै सताउने र जीवनलाई कमजोर बनाउने अर्थात जीवन जीवन भएजस्तो नहुने हो भने समस्यालाई पन्छाउनुको अर्थ रहँदैन । जीवनलाई समस्या चाहिएको हुन्छ र जीवनले समस्याबाटै समाधानको बाटोमा जाँदा उसले असल मार्ग पहिल्याउन सक्छ । जीवनलाई असल मार्गमा लैजाने बाटो समस्याले नै देखाउँछ । समस्यालाई चिनेर समाधानको सही बाटो खोज्ने हो भने समस्याले जीवनलाई सार्थक बनाउँछ, जीवन बाँच्नुको औचित्यलाई पुष्टि गर्दछ ।
सतही समाधानले दृढतापूर्वक समाधान नभएको समस्याले ठानेर उसलाई गाँज्न खोज्छ । यसले जीवनलाई कहीँको हुन दिँदैन अर्थात जुन लक्ष्य हुन्छ, त्यो लक्ष्यलाई टाढा धकेल्छ र सही पन्छाइ तथा समाधानले जीवनमा सुन्दर लक्ष्यहरु ल्याउँछन् ।
यसैले कहिलेकाही समस्या अवसर बनेर आउने रहेछ, धेरै समस्याहरुको द्वार बन्नुभन्दा समस्या धेरै समस्याहरुको समाधान बनेर आउने रहेछ । फरक के हो भने समस्यादेखि कतिको डराउने र समस्यालाई कतिको आत्मविश्वासका साथ सामना गर्ने । यो जहाँ रहे पनि नछोड्ने हुनाले यसदेखि डराएर भाग्ने प्रयास नगरेकै राम्रो किनभने समस्यामुक्त जीवन हुन सक्दैन । (लेखक साह रौतहटमा वरिष्ठ पत्रकार हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here