गरुडा, २९ कार्तिक । रौतहटमा दुई बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवारले प्रदर्शन गरिरहेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा शंकास्पद मृत्यु भएका दुई बालकको शव जिल्लाको गरुडा चौकमा राखेर प्रदर्शन भैरहेको छ । चन्द्रनिगाहपुर–गौर सडक खण्ड अन्तर्गत पर्ने गरुडा बजारमा शंकास्पद मृत्यु भएका दुबै बालकको शव राखेर सडक अवरुद्ध पार्दै प्रदर्शन भइरहेको छ । देवाही गोनाही नगरपालिका वडा नं—५ टिकुलियाका संजय मुखियाको ५ वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको बिरगंज स्थित तराइ अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवार र तिनका आफन्तहरुले घटनाको वास्तविक छानबिन गरी दोषीलाई पक्राउ गरेर पीडितलाई क्षतिपूर्तिसहितको माग गर्दै गरुडामा शव राखेर प्रदर्शन गरिरहेको बताइएको छ । शंकास्पद मृत्यु भएका दुबै बालकको शवलाई नारायणी अस्पताल बिरगंजमा पोस्टमार्टम गरिएको छ । रिपोर्ट आउन बाँकी छ । घटनाको विषयमा अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here