बिजयपुर,३० कार्तिक ।
फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन । गत दशैं अघिनै पाउनुपर्ने तलब सुबिधा कार्तिक महिना बित्नलाग्दा पनि पाउन नसकेको कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन । आइतबार नगरपालिकाको अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तिले गर्दा ५ महिनादेखि तलबभता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताएका छन ।
नगरसभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा बिजयपुर नगर अन्तर्गत ३२ बिधालयका झन्डै २५० शिक्षक र अन्य कर्मचारी गरि ३०० को हाराहारीमा शिक्षक कर्मचारीले तलब पाउन नसकेको एकजना महिला शिक्षिका उषा किरण श्रेष्ठले बताईन।पहिलो चरणको आन्दोलन स्वरुप सबै बिधालयका शिक्षकहरु आइतबार देखि पठनपाठन बन्दगरी बिहान १० बजेदेखि ४ बजेसम्म बिधालय प्रांगणमा धर्नामा बस्ने शिक्षकहरुले निर्णय गरेका छन ।फतुवा बिजयपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएको कारण तलब दिने अख्तियारी हालसम्म न आएको बताएका छन ।
नगरसभाको बन्दसत्रको पुरै प्रक्रिया हालसम्म पूरा नभएकाले समयमा शिक्षक,कर्मचारी लाई तलब दिन नसके पनि प्रक्रिया पूरा गर्न आफुहरु लागिरहेको अधिकृत गुप्ताले जानकारी दिएका छन ।