कटहरिया,१२ मंसिर । आश्रय निर्माण सेवाले रौतहटको कटहरिया स्थित सडक संरचना बिगारेर जथाभावी ढल तथा नाला निर्माण गर्न लागेका छन । आश्रय निर्माण सेवाका संचालक रामअश्रे साहले ठेक्का लिएको नाला निर्माणको काम आफैले नगरी पेटि ठेकदार मार्फत गराएर बजार क्षेत्रकै सडक संरचना बिगारी रहेका छन । त्यति मात्र नभई पेटि ठेकदारहरुले जथाभावी बाटो खन्दा कटहरियामा पटक–पटक खानेपानीको पाईप फुटेर खानेपानी सेवा अवरुद्ध हुँदै आएको छ । कटहरिया नगरपालिका वडा ४ र ५ मा ढल तथा नाला निर्माणको लागि खानेपानी तेस्रो सानासहरी आयोजनाले गतबर्ष निकालेको ५४ करोडको टेन्डर आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा साकार गरेको थियो ।
ठेक्का साकार गरेलगत्तै संचालक साहले कटहरिया गाउँमा ढल तथा नाला निर्माणको काम पेटि ठेकदार मार्फत सुरु गराउंदा गुणस्तरहिन बालुवा,मिठापाक ईंटा,नाला जोडाईमा पानीको प्रयोगनै नगरेको पाईएपछी स्थानीयले २ दिनसम्म काम रोकेका थिए । पछि रौतहटका तत्कालीन सिडियो ईन्द्रदेवको रोहवरमा ठेकदार साहका भाई नागेन्द्र साहले ढल तथा नाला निर्माण काम स्तरीय गर्ने प्रतिबद्धता गरेपछि पुनः निर्माण काम सुरु भएको थियो । यसपटक निर्माणकाम सुरुगर्नु अघि कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाले मेयर सियाराम कुश्वाहाको रोहवरमा ठेकदार संग जनप्रतिनिधिको छलफल गराएको थियो । छलफलमा बजार क्षेत्रमा ढल तथा नाला निर्माण गर्नु अघि स्थानीय जनप्रतिनिधि संग समन्वय गरेर काम अगाडि बढाउने सहमति भएको थियो ।
निर्माणको ठेक्का लिएका मुल ठेकदार रामअश्रे साह आफू नबसेर पेटि ठेकदार संग ढल तथा नाला निर्माण गराउंदा उनिहरुले जथाभावी बाटो खनेको कारण पटकपटक खानेपानीको पाईप फुटेर सप्लाई बन्द हुंदैआएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले गुनासो गरेका छन् । त्यतिमात्र नभई प्रोजेक्ट ईन्जिनियर बिजेन्द्र यादवको मिलोमतोमा पेटि ठेकदारले बजारको मुल सडकको छेउमा ८.१० फिट खाली छोडेर नाला निर्माण गरिरहेकाले सडक संरचनानै बिग्रीरहेको कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाले गुनासो गरेका छन । सो पछि पटक–पटक ईन्जिनियर यादव र पेटि ठेकदार लाई बोलाएर सडक संरचना नबिगारी ढल तथा नाला बाटो छेउमा निर्माण गर्न भन्दा घरधनी संग केहि रकम लिएर बदमासी गरिरहेको प्रवक्ता कुश्वाले आरोप लगाएका छन ।
कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहा आफू एमाले पार्टीको महाधिवेशनमा ब्यस्त रहेकोे मौका पारेर मुल र पेटि ठेकदारले बदमासी गरिरहेको बताए । मेयर कुश्वाहाले ढल तथा नाला निर्माणमा मुल लगानीकर्ता तेस्रो सानासहरी तथा खानेपानी योजनाका पदाधिकारीले ध्यान दिन जरुरी रहेको बताए । ईन्जिनियर बिजेन्द्र यादव लाई पटकपटक फोनगर्दा रिसिभ नै गरेनन । यसरी आश्रय निर्माणसेवाले गैरजिम्मेवारी पुर्ण गर्न लागेको ढल तथा नाला निर्माणले एकातिर कटहरियाको सडक संरचना बिग्रीनुका साथै खानेपानी पाईपमा लाखौंको क्षति पुगिरहेको छ भने अर्को तर्फ बीच बाटोमा निर्माण भैरहेको ढल तथा नाल पुनः भत्काउने अवस्था चांडै आउने भएकाले एसियाली विकास बैंक र नेपाल सरकारको करोडौंको लगानी बालुवामा पानी सरह हुने निस्चित रहेको छ । २०७८ मंसिर १२ गते तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here