गौर,१९ मंसिर । रौतहटका स्थानीय तहमा अहेव र कबिराजको हालिमुहाली बढदै जान थालेको छ । उप सचिव र शाखा अधिकृतको दरबन्दी रहेका जिल्लाका नगरपालिका र गाँउपालिकामा जनप्रतिनिधिको मिलेमतोमा अनियमिता गर्ने मनसायले अहेव र कबिराजलाई हाकिम बनाएर लुटतन्त्र मच्चाउने काम भएको भन्दै चर्को बिरोध हुदै आएको छ । यतीबेला स्वास्थ्यका कर्मचारीहरुले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने होड नै चलेको छ ।
स्थानीय तहका निर्वाचित प्रमुखको नजिकका स्वास्थ्य कर्मचारीहरुले धमाधम निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । नगरपालिकामा उपसचिवस्तरको प्रशासकीय प्रमुख हुनुपर्नेमा रौतहटका अधिकांश पालिकामा नियमानुसार कार्यालय प्रमुख रहेका छैनन् ।
झन् स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले स्थानीय तहको प्रशासनिक नेतृत्व गरिरहेका छन् ।
केहीदिन पहिला माधव नारायण नगरपालिकामा जियालाल राय यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । नगरपालिकाका मेयर वीरेन्द्र राय यादवको गाउँ दीपहीकै र आफन्त भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न कुनै अप्ठ्यारो परेन । गत छ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका प्रलभ कायस्थको सरुवा भएपछि मेयरको गाउँकै स्वास्थ्यकर्मीले नपाको प्रशासन हाँक्ने जिम्मेवारी पाएका हुन् । रौतहटको माधव नारायण, राजदेवी, बौधीमाई र गुजरा नगरपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्नेहरु स्वास्थ्यकर्मी नै हुन् । यसैगरी यमुनामाई र दुर्गा भगवती गाउँपालिकाका प्रशासकीय प्रमुखहरु आर्युवेद स्वास्थ्यकर्मी नै हुन् ।
राजदेवी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा सुबोध साह, बौधीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रामेश्वर यादव, गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु यादव र गुजरा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विनोद जयसवाल रहेका छन् । जिल्लामा रहेका दुई गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परमानन्द पाठक र यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुखमा परमानन्द पाठक रहेका छन् । दुबै जना कबिराज हुन । स्थानीय तहको निर्वाचन आउन थालेको भन्ने हल्ला रहेको समयमा आफूले अह्राएको मान्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकांश पालिकाका निर्वाचित प्रमुखहरुले खोजिरहेका छन्। पालिकाको निगरानीमा शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवाका कर्मचारीहरु आएपछि अधिकांश पालिकाका निर्वाचित प्रमुखहरुले स्वास्थ्यकर्मीलाई रोज्न थालेका छन् । रौतहटमा रहेको १८ पालिकामध्ये एक तिहाई पालिकामा स्वास्थ्यकर्मी नै निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्नुले यसै कुरालाई पुष्टि गरेको छ । शिक्षामा प्रथम श्रेणीको शिक्षक रहेको ठाउँमा पनि स्वास्थ्यका पाँचौबाट छटौँ तहमा बढुवा भएका तृतीय श्रेणीका स्वास्थ्य अधिकृतहरुले पालिका चलाइरहेका छन् । अहेव, एचए र आयुर्वेद एचएबाट बढुवा भएर छैटौँ तहमा पुगेकाहरुको भरमा स्थानीय तह चल्न थालेपछि पालिकाहरुले खासै प्रगति गर्न सकेका छैनन् । २०७८ मंसिर १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here