सप्तरी, २२ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । कुटाकुटमा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएका छन् । किसानका लागि अनुदानअन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो। कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए । गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन्। उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् । कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् । तर उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन्। अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here