ईशनाथ,१५ पुस ।
राज्यको पहिलो प्राथमिकता शिक्षा हुनुपर्दछ । असल र गुणस्तरिय शिक्षाले मात्र सवल अनि सक्षम नागरिक बन्छन् । बाल बालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नको लागि व्यवस्थित भौतिक पूर्वधार अत्यावश्वक पर्दछ । तर रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा रहेको एक आधारभुत विद्यालयको पुरानो भवन भत्काएको महिनौ बितिसक्दा पनि नयँ भवन नबन्दा बालबालिकाहरु चिसो भुइँमा पलेटी कसेर पढ्न वाध्य भएका छन् । शिक्षामा रौतहट जिल्ला नेपालकै पुच्छरमा रहेका जिल्लाहरुमा पर्दछ । झन् दैलो सरकार स्थानिय सरकारले पनि यसलाई वेवास्ता गर्दा पुच्छरबाट माथि हुने छाटकाट देखिएको छैन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा रहेको एक आधारभुत विद्यालयको अवस्था अहिले नाजुक रहेको छ । गत बैशाख महिनामा नगरपालिकाले नया भवन बनाउने भन्दै पुरानो पाचकोठे भवन भत्काएको थियो । कोरोना समय र लकडाउन अवधिमा विद्यालय बन्द रहेको समयमा पुरानो भवन भत्काएर नया भवन बनाउने लक्ष्य लिएपनि अहिलेसम्म सुरुवात पनि भएको छैन् । विद्यालयमा पठपाठन सुरु भएको पनि ६ महिना बितिसकेको छ । तर नया भवन नहुदा र भएको भवन पनि भत्किदा बालबालिकाहरु विद्यालयको चौरमा , वरन्डाको चिसो भुइमा बसेर पढ्न वाध्य भएका छन् । यसरी पढ्दा आफुहरुको पढाइमा निकै नराम्रो असर परिरहेको विद्यार्थीहरु गुनासो गर्छन् ।
बाल विकास देखि कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा ५ सय हाराहारी विद्यार्थी रहेका छन् । विद्यार्थीहरुलाई राखेर पढाउन कक्षा अपुुग भएपछि विद्यालयले ३ वटा कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर वहुकक्षा संचालन गर्दै आइरहेको छ । जसले कक्षा सो विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित भएको छ । विद्यालयमा बसेर पढ्ने ठाउ नभएर आधाजस्तो विद्यार्थीहरु विद्यालयनै आउन छाडेको स्थानिय बताउँछन् । विशेषगरी गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने विद्यालय भएर पनि जनप्रतिनिधीहरुले वेवास्ता गरेको स्थानियको आरोप छ ।
अधिकासं हुने खाने र सम्पन्न परिवारका बालबालिकाहरुलाई अभिभावकले सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेका छन् । ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयमा आर्थिक रुपले पछाडि रहेका अभिभावकहरुका बालबालिका पढ्ने गरेको पाइन्छ । आफ्ना छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्न सके राम्रो भविष्य बन्ने आशमा विद्यालय पठाएका अभिभावकहरु विद्यालयमा कक्षा कोठाको अभावमा प्रभावकारी पढाइ नहुँदा अब छोराछोरीको भविष्य के हुने भनेर चिन्तामा परेका छन् । आजको बालबालिका भोलीका देशका कर्णधार हने हुनाले आज शिक्षा नपाएका बालबालिका भोली के हुने चिन्ता स्थानिय जनप्रतिनिधीहरुलाई नभएको स्थानियको गुनासो छ । आफुहरु पढ््दा कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।
विद्यालय वरपर नया भवन निमार्ण गर्न भनेर ल्याइएका रड, इटा , सिमेन्ट , वालुवा यत्रतत्र छरिएका छन् । यसरी जथाभावी राखिएका निमार्ण सामाग्रहरुले विद्याथीहरुलाई चोटपटक लाग्ने समस्या उत्तिकै रहेको छ । भवन भत्काएपछि खुल्ला भएपछि गाइबस्तु पनि विद्यालयमा प्रवेश गर्ने गरेका छन् । विद्यालयको अवस्था हेर्दा कतैपनि अध्ययन , अध्यापनको वातावरणनै देखिदैन् । आफुहरुले चाँडै नयाँ भवन निमार्ण गर्न धेरैतिर धाएको तर निराशा मात्र हात लागेको विद्यालयका प्रधानाध्यापक मनोज श्रीवास्तव बताउछन् ।
हाल विद्यालयमा जम्मा ४ वटा कोठा मात्र रहेको एक भवन छ । जसमा एउटा कोठामा निमार्ण सिमेन्ट सामाग्री राखिएका छन् भने सोही कोठामा विद्यालयको अफिस पनि रहेको छ । नगरपालिकाले भवन भत्काउन हतार गरेपनि बनाउन सुस्सता देखाउने विद्यालयको अवस्था अनि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।
नगर प्रमुख सन्तोष मेहत्ताले चाडै पुरानो जीर्ण भवन भत्काएर नया भवन बनाउने भनेपनि आजसम्म सुरसार नभएको सो वार्डका वडाध्यक्षको बिगु साहको गुनासो छ ।
शिक्षा राष्ट्रको प्रमुख मेरुदण्ड हो । तर हाम्रो देशका धेरै सामुदायिक विद्यालयको अवस्था भने नाजुक रहेको छ ।
धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्चाउनुपर्ने अवस्था सृजना भएको छ । इशनाथ नगरपालिकामा रहेको यस आधारभुत विद्यालयको नया भवन कहिले बन्छ र विद्यार्थीहरुले चिसो भुँइमा बसेर पढ्नु पर्ने वाध्यताको अन्त्य कहिले हुन्छ , स्थानियले नगर प्रमुख सन्तोष मेहतासंग प्रश्न गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here