चन्द्रपुर,१८ पुस ।
पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित मुख्य चोक होटलका फोहोरका कारण प्रदूषित बनेको छ । होटल व्यवसायीले फाल्ने फोहोर र दूषित पानीका कारण बजार नै कुरुप र दुर्गन्धित भएको हो ।
राजमार्गमा गुड्ने सबारीको जक्सन पनि भएकाले चोकमा दैनिक सयौको सख्यामा बस, ट्रक, ईरिक्सा, म्याजिक बस रोकिने गर्छन । तर, फोहोरका कारण यात्रु तथा स्थानीयलाई सकस हुने गरेको छ । स्थानियले पटक÷पटक विरोध जनाए पनि नगरपालीकाले भने वेवास्ता गर्दै आएको छ ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले गत वैशाखमा आश्रय निर्माण सेवालाई ठेक्का दिएर मुख्य चोकको दुई लेनको सडकलाई स्तरोन्नति गरी चार लेनको बनाएको थियो । सडक फराकिलो भएसँगै सवारी आवगमन सहज हुने विश्वास सबैले गरे । तर चार लेनको सडकको दुई लेन अहिले पार्किङमा परिणत भएको छ । यही पार्किङ क्षेत्र फोहोर पानीले हिलाम्मे छ । होटल व्यवसायीले नालामा छाडेको पानी सडकमा बग्न थालेपछि दुर्गन्धित भएको हो ।
वडाध्यक्ष अमर आलेले होटल व्यवसायीलाई पटक पटक फोहोर पानी नफाल्न भने पनि नमानेको बताए । सडक दुर्गन्धित भयो । यात्रु र स्थानीय मारमा परे । सहर कुरुप भयो भनेर हामीले भन्दै आएका छौं, उनले भने, सडकमा फोहोर पानी र अव्यवस्थित पार्किङले चोक कुरुप बनेको छ । नगरपालिका उपप्रमुख रामरति चौधरीले नगरभित्रको सडक र फुटपाथको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको भएको बताइन । सडकमा फोहोर पानी र जथाभावी सवारी पार्किङ गर्दा सहरी सौन्दर्यलाई असर परेको छरु। यसले दुर्घटना जोखिम बढेको छ, उनले भनिन्, चाडै नै फोहोर पानीलाई व्यवस्थित गर्छौं । पार्किङ पनि मिलाउछौं ।
डिभिजन सडकले दुई वर्षअघि चोकको उत्तरतर्फ सानो नाला बनाएको थियो । त्यही नालामा होटलवालाले फोहोर फाल्ने गर्छन । बेला बेलामा नाला सफा गर्नु पर्नेमा त्यसो हुन सकेको छैन । चन्द्रपुर ४ का स्थानीय केदार तिमल्सिना होटल सञ्चालकहरूको बदमासीले चोकमा हिँड्नै नसक्ने अवस्था आएको बताउछन । नगरपालिकाले नाला व्यवस्थित गर्नुपर्नेमा चासो दिदैन । ईरिक्सा, म्याजिकहरू रोक्ने ठाउ छैन, उनले भने, जनप्रतिनिधिलाई जति भने पनि टेर्दैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here