अशोक पहाडी
चन्द्रनिगाहपुर,२७ पुस । चन्द्रपुर नगरपालिका भित्रका उपभोक्ता समितिले आर्थिक बर्ष २०७७÷७८ मा गरेको कामको भुक्तानी नपाएको गुनासो गरेकाछन् । कयौ उपभोक्ता समितिले पैसा नपाउने भैयो भन्दै तनावमा पर्न थालेकाछन् ।
चन्द्रपुर नगरपालिकासंग सम्झौता भएपछि आफुले ऋण खोजेर काम गरेको तर काम सकिसक्दा समेत भुक्तानी नपाएको चन्द्रपुर २ का दलमान बम्जनले गुनासो गरे । गत आर्थिक बर्षकै पैसा उपभोक्ता समितिलाई दिन नसकेको चन्द्रपुर नगरपालिकामा यस आर्थिक बर्षका लागि एक सुक्को पैसा खर्च गर्न नसक्ने अवस्था रहेको एकजना कार्यपालिका सदस्यले जानकारी दिए । बिगत तीन बर्ष देखी चन्द्रपुर नगरपालिकामा घाटा बजेट रहेको र जनप्रतिनिधिहरुको पद सकिने अन्तिम बर्षमा भने उनीहरुले आफुले भनेको ठाउमा बजेट हाल्न नसक्ने अवस्था रहेको जानकारहरुको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका संग सम्झौता गरेर भुक्तानी नपाएका कारण कयौ विकासका काम अझै अधुरै रहेको स्थानीयको भनाइ रहेको छ ।
देउराली चोक देखी पुर्व पश्चिम राजमार्ग सम्म नाला निर्माणका लागि उपभोक्ता समिति गठन गरेर नगरपालिकाले ७० लाखमा नाला बनाउने कामको जिम्मा समितिलाई दिएको थियो । ७० लाखको काम गर्नका लागि २० लाख मात्र नगरपालिकाबाट रकम पाएको उपभोक्ता समितिले आर्थिक बर्ष सकिएको ६ महिना बिति सक्दा समेत भुक्तानी पाएको छैन् । नाला निर्माण भएपनि नालामा ढक्कन लगाउने काम हुन नसक्दा नाला अगाडीका पसले दिनभरी नाक थुनेर बस्नु पर्ने अवस्था रहेको छ । उता समितिका सदस्य यादव क्षेत्रीका अनुसार चारै तिरबाट सरसापट गरेर नाला बनाउने काम त सकियो तर नगरपालिकाले पैसा नदिएका कारण ढकन हाल्न नसकिएको हो । चन्द्रपुर ४ का यादव क्षेत्री जस्तै दर्जनौ उपभोक्ता समितिका मान्छे नगरपालिकामा भुक्तानीका लागि धाउने गरेकाछन् । तर कर्मचारीले नगरपालिकामा पैसा छैन भने पछि उनीहरु निरास बनेर फर्कने गरेका छन् । केही बर्ष देखी कर्मचारीले घाटा बजेट बनाउदै गएको कुरा जनप्रतिनिधिले चाल नपाएका कारण आफ्नो कार्यकाल सकिने बेलामा उनीहरु समस्यामा परेको जानकारहरुको भनाइ रहेको छ । कर्मचारीले कस्तो बजेट बनाए भन्नेकुराको भेउ समेत नपाउने जनप्रतिनिधिबाट कस्तो आस गर्ने एक स्थानीयले भने । २०७८ पुस २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here