गौर,२७ पुस । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी थालेसंगै रौतहटका पालिका प्रमुखहरु आफ्नालाई हाकिम बनाउन लागि परेकाछन् । जिल्लाका पालिका प्रमुखहरूले आफ्नो अनुकूल काम नगरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत फेर्दै आएका छन् । उनीहरूले सरुवाका लागि नाम तोकेर नै मन्त्रालयमा पत्र पठाउने गरेका छन ।
कार्यकालको अन्तिमतिर रहेका जनप्रतिनिधिले आफूअनुकुलका प्रमुख राखेर काम गराउन मन्त्रालयमा पत्र पठाउने र धाएर पत्र बनाउने गर्छन । आफूले भनेका सरुवा नआए हाजिरै हुन नदिने गरेका छन ।माधवनारायण नगरपालिकाका प्रमुख वीरेद्र राय यादवले आफ्नो रोजाइका स्वास्थ्यका कर्मचारी जियालाल राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएपछि स्थानीयले आन्दोलन गरे । तत्कालीन शाखा अधिकृत प्रलभ कायस्थ उक्त जिम्मेवारीमा थिए ।
नगरप्रमुख यादवले स्वास्थ्यका यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा सिफारिस गरेका थिए । ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तालाई हटाएर नगरप्रमुख सन्तोष मेहताले उपसचिव खेमबहादुर भुजेललाई ल्याए । उनी पुस २० गते हाजिर भए । नगरप्रमुख मेहताको रोजाइमा परेका गुप्तासित केही समयदेखि सम्बन्ध बिग्रिएको थियो । गत साउनमा निमित्त पाएका गुप्ता शिक्षा संयोजक हुन ।
राजदेवी नगरपालिकाको अवस्था पनि उस्तै छ । यो नगरमा पनि नगरप्रमुखको रोजाइको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भएर आउने गर्छन । चित्त नबुझे तत्कालै मन्त्रालयमा पत्र पठाएर अर्कालाई जिम्मेवारी तोक्न लगाउछन ।
एक महिनाअघि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय पाण्डेलाई हटाएर नगरप्रमुख धिरेन्द्र सिंहले आफ्नो रोजाइमा परेका स्वास्थ्यका अधिकृत सुबोध साहको नाममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर जिम्मेवारी तोक्न लगाए । पाण्डे इन्जिनियर हुन । उनी नगरप्रमुख सिंहकै रोजाइमा परेका अधिकृत थिए । तर, सिंहको कुरा नमानेपछि हटाएर साहको नाममा मन्त्रालयबाट पत्र बनाएर ल्याएको आरोप छ ।
नगर उपप्रमुख अंशु सिंहले नगरप्रमुखले भने अनुसार नभए तत्कालै मन्त्रालयमा पत्र पठाएर अर्कोलाई हाकिम बनाउन लगाउने गरेको आरोप लगाइन । मन्त्रालय पनि मेयर साहबले पत्र पठाएको भरमा प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाउछन । को कर्मचारी सही को गलत भन्ने छुट्याउदैनन्, उनले भनिन्, नगरप्रमुख र मन्त्रालयबीच तालमेल गजबले मिलेको छ । अनि बेथिति नबढे के बढ्छ ? उनले मन्त्रालयलाई मेयरको मात्र कुरा नसुन्न र पत्रको भरमा रोजाइमा परेका कर्मचारीलाई प्रमुखको जिम्मेवारी नतोक्न अनुरोध गरिन ।
गरुडा नगरपालिकाका मेयर इन्नुराय यादवले इन्जिनियर मुस्ताक आलमलाई रुचाएर गत वर्ष निमित्त प्रमुख बनाए । उनी आठौं तहका कर्मचारी हुन । झण्डै एक बर्ष काम गरिसकेका आलमले भनेको नमानेपछि केही समयअघि मेयर यादबले कार्यालयकै छैटौं तहका स्वास्थ्यका कर्मचारी रामबाबु यादवलाई निमित्तको जिम्मेवारी दिए ।
मन्त्रालयका अधिकारीहरू पनि नगरप्रमुखको हर्कतले असन्तुष्ट छन । मन्त्रालयका सहसचिव एवम प्रवक्ता वसन्त अधिकारीले उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत पठायो भने हाजिरै नगराउने र गराइहाले भने पनि पूरा अवधि टिक्नै नदिने प्रवृति हाबी भएको तराई एक्सप्रेसलाई बताए । पछिल्लो समय नगरप्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृतको नामै किटेर पत्र पठाउने गरेका छन्, उनले भने, अहिले उहाहरूको रोजाइमा शिक्षा, स्वास्थ्य इन्जिनियर जस्ता कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिनु भनेर पत्र पठाउछन । सहसचिव अधिकारीका अनुसार अहिले धेरै उपसचिवहरूको दरबन्दी रिक्त छ ।बर्सेनि उपसचिवहरू सेवा निवृत्त हुन्छन । यही कारण समस्या परेको हो । रौतहटमा १८ वटा पालिकामध्ये फतुवा विजयपुर, राजपुर फरदहवा, चन्द्रपुर, कटहरिया, माधवनारायण लगायतमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरेको फेरै छन । २०७८ पुस २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here