चन्द्रपुर,२४ माघ ।
रौतहटका बैंकहरू नाफाखोरी संस्थाको रूपमा परिणत हुदै गएको यहाका व्यवसायीहरूले आरोप लगाएका छन् । बैंकहरू पहिले निश्चित नाफा लिएर परोपकारी सेवा उपलब्ध गराउने संस्थाको रूपमा चिनिन्थे भने अहिले नाफामूलक कारोबारमा मात्र केन्द्रित भएको व्यवसायीहरूको आरोप छ । रौतहटका एकजना व्यवसायीले दर्जनौं वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूमा अहिले ऋण पाउन समस्या भइरहेको बताए । विगत अढाई महीनादेखि यस्तो समस्या देखा परेको उनले बताए । देशभरि नै आर्थिक तरलता सिर्जना भएको अवस्थामा यहाका बैंकहरूले पनि सिन्डीकेट लागू गर्दै ऋण दिनबाट हिचकिचाउने, आलटाल गर्ने गरेको पााइएको छ ।
चन्द्रनिगाहपुरमा रहेको एक निजी बैंकका म्यानेजरले बैंकबाट ऋण दिनुको साटो आफैले खेपी व्याजमा ऋण लगानी गर्ने गरेको पाईएको छ । ती म्यानेजरले चेक लिएर खेपी व्याजमा ऋण लगाएको पैसा व्यापारीले समयमा तिर्न नसकेपछि उनले चेक बाउन्सको प्रक्रिया थालेका थिए ।
उद्योग–व्यवसायको कामको लागि ऋण माग्न जादा अहिले पैसा छैन भन्छन्, हामी हेड अफिसमा बुझेर खबर गर्छौं, भन्ने गरेको चन्द्रनिगाहपुरका एकजना प्रतिष्ठित व्यवसायीले बताए । तर ब्याजको प्रिमियम रेटमा बढोत्तरी गरेर ऋण दिन पैसा रहे पनि त्यसमा पनि बार्गेनिङ भइरहेको ती व्यवसायीले आरोप लगाए ।
अहिले ब्याजदर करीब १२ प्रतिशत पुगेको व्यवसायीहरूको भनाइ छ जबकि पहिले साढे पांच प्रतिशत बेस रेट र ८० पैसा प्रिमियम लिन्थे भने अहिले ८ प्रतिशत बेस रेट र ४ प्रतिशत प्रिमियम गरी कुल १२ प्रतिशत अफर गरिरहेको व्यवसायीहरूको भनाइ छ । अर्थात् अढाई महीनाअगाडि एक करोड रुपैया ऋण लिंदा छ लाख मात्र वार्षिक ब्याज तिर्नुपथ्र्यो भने अहिले व्यवसायीहरूले सोको दोब्बर अर्थात् १२ लाख तिर्नुपर्ने अवस्था आएको बताए । २०७८ माघ २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here