चन्द्रपुर, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) चन्द्रपुर नगरको प्रथम नगर भेला सम्पन्न भएको छ । कार्यक्रम पार्टीको नगर कमिटी कार्यालयबाट निस्किएका वाइसिएलका कार्यकर्ता तथा पार्टीका कार्यकर्ताहरुले चन्द्रपुर नगर परिक्रमा पछि शहीद स्मृति पार्कमा पुगेर भेलामा परिणत भएको थियो । कार्यक्रमको उदघाटन वाइसिएलका केन्द्रिय इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा) ले गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दिपशिखाले वाइसिएलले २०६४ सालको जस्तै काम गरेर देखाउन आग्रह गरे । उनले कार्यकर्तालाई निर्वाचनमा हुने कुनै पनि गलत क्रियाकलापको डटेर सामना गर्न निर्देशन दिदै माओवादीको साथ विना कुनै पनि पार्टीले काम गर्न नसक्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई समिरले वाइसिएलले अन्य पार्टीले गरेको गलत कामको भण्डाफोर गर्दै पार्टीले गरेको राम्रो कामको जनतालाई बुझाउन सक्नुपर्ने बताए । उनले माओवादीले जितेको चन्द्रपुरको वडा नं. २ र ३ नगरकै नमूना वडा भएको बताउदै त्यसलाई आधार मानेर अन्य वडामा पनि यसको बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य वहिद अन्सारी, केन्द्रिय लेखा आयोग सदस्य एकराज थापा, मधेश प्रदेश सदस्य वीर बहादुर गोले, देवकी नेपाल, जिल्ला अध्यक्ष देवेन्द्र पटेल, चन्द्रपुर नगर अध्यक्ष टिका आचार्य, वाइसिएल मधेश प्रदेश संयोजक सन्देश श्रेष्ठ, वाइसिएलका केन्द्रिय सदस्य कमला पाण्डे, वाइसिएलका पुर्व केन्द्रिय सदस्य अमित श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षतामा वाइसिएल चन्द्रपुर नगर संयोजक सन्दीप अर्यालले गरका थिए । आज सम्पन्न भएको वाइसिएल चन्द्रपुर नगर भेलाबाट रमेश गोलेको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा बाबु घिसिङ, केशव अर्याल, मान बहादुर स्याङ्तान, सुवास राउत,विक्रम थापा सचिव राजु गिरी, कोषाध्यक्ष सुताजा गुरुङ, सह सचिव रमेश साह लगायत चुनिएका छन ।