चन्द्रपुर,२० बैशाख । नेकपा एकिकृत समाजवादीको चन्द्रपुर नगरका मेयरका उम्मेदवार बाबुराम दाहालले आफुले चुनाव जितेमा चन्द्रपुर प्रदेश २ कै खेलकुदको हव हुने बताएकाछन् ।
उनले आफुले चुनाव जितेमा चन्द्रपुरका युवाका लागि स्वरोजगार मुलक कार्यक्रम संचालनमा जोड दिने बताए ।
उनले चन्द्रपुर अस्पतालको अवस्था सुधार गरेर सर्वसुलभ सेवाका लागि पहिलो प्राथकिता दिने बताए । तराई एक्सप्रेससंग कुरा गर्दै दाहालले आफ्नो पहिलो प्राथमिकता नगरको खेलकुद ,शिक्षा र स्वास्थ्य ,रोजगारी रहेको बताएकाछन् ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रममा युवाहरुका लागि आफुले धेरै योजनाबद्ध कार्यक्रम ल्याउने बताए । आसन्न निर्वाचनमा मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी, नेकपा एसकी केन्द्रीय नेतृ कल्याणी खड्का र वडा नम्बर २ का उम्मेदवारहरु घरदैलोमा सहभागी थिए । उक्त अवसरमा मेयर पदका उम्मेदवार दाहालले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । साथै घरेलु, साना तथा मझौला र कृषिमा आधारित उद्योग स्थापनालाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरी स्वरोजगारी सिर्जना गर्न पहल गर्ने बताए । नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता सहभागी घरदैलोमा वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार रामकुमार खड्का र सदस्यका उम्मेदवारहरु रञ्जु थापा, डोमा थापा, पनिलाल चौधरी र दुर्गा विश्वकर्मा सहभागी थिए । बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।