चन्द्रपुर,२१ बैशाख । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा आज मंगलबार नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।
आसन्न निर्वाचनमा मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी र वडा नम्बर ५ का उम्मेदवारहरु सहित नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता घरदैलोमा कार्यक्रममा सहभागी थिए ।
उक्त अवसरमा मेयर पदका उम्मेदवार दाहालले चन्द्रनिगापुर सरकारी अस्पताललाई पूर्वाधार, उपकरण र दक्ष जनशक्तिसहित ३०० वेडमा स्तरोन्नती गरी विशेषज्ञ सेवासहितको सहज र निःशुल्क सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । चन्द्रपुरमा एक बहुप्राविधिक शिक्षा स्थापना गर्ने प्रतिबद्धता जनाउदै माध्यमिक तहको शिक्षा पूरा गरेका विधार्थीलाई सिक्दै र कमाउँदै (लर्न एण्ड अर्न) कार्यक्रम शुरु गर्ने पनि बताए । आफूले जनताहरुको मत पाएर विजयी भए सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने वातावरण तयार गर्ने उल्लेख गरे ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीमा जोडः हाम्रो राम्रो समृद्ध चन्द्रपुरका लागि कलममा भोट भन्ने मूल नारासहित आफूहरुको टिम जनताको घरदैलोमा पुगेको उनले बताए ।
आजको घरदैलोमा वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सरोज हुमागाई (दुर्गाप्रसाद) र सदस्यका उम्मेदवारहरु रञ्जुकुमारी, लोकबहादुर रैया दनुवार (शिव), शान्ति परियार र गंगादेवी भट्टराई सहभागी थिए ।
बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।