चन्द्रपुर,२५ जेठ ।
पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित सडकमै गाडी राख्न थालेको र बसपार्क सञ्चालनमा ल्याउन नसकेको आलोचना खेप्दै आएको चन्द्रपुर नगरपालिकाका नव निर्वाचित मेयर संजय काफ्लेले अलपत्र बसपार्क सञ्चालनमा ल्याउने बताएकाछन । उनले बस होल्डिङ सेन्टर र बन्द बसपार्क सञ्चालनमा ल्याउन आपुले सक्दो चाडो पहल थाल्ने बताएकाछन ।
राजमाार्गको मुख्य चोक र गौर खण्डमा जथाभावी सवारी राख्न थालेपछि चन्द्रपुर–४ स्थित टेकान टोलमा २०६९ मा निर्माण गरिएको बसपार्क सञ्चालनमा ल्याउन थालिएको मेयर काफ्लेले बताए । निर्माणपछि केही समय सञ्चालन भएको बसपार्क पछि बन्द भयो । अहिले उक्त बसपार्क अलपत्र अवस्थामा छ । नगरपालिका प्रमुख सञ्जय काफ्लेले पूर्वको चादी पुल क्षेत्रमा बसको होल्डिङ सेन्टर निर्माण र टेकान टोलको अलपत्र बसपार्क सञ्चालनमा ल्याउन पहल थालेको बताए ।
नगरप्रमुख काफ्लेले चाडै नै सम्बन्धित निकायका प्रतिनिधि राखेर छलफल गर्ने तराई एक्सप्रेसलाई बताए । नगरप्रमुखमा निर्वाचित भएपछि आफ्नो पहिलो प्राथमिकता बस होल्डिङ सेन्टर र अलपत्र बसपार्क सञ्चालनमा ल्याउने रहेको बताए । टेकानमा बसपार्क निर्माण गरिएपछि उसैबेला तामझाम, बाजागाजासहित गाडीको लावालस्कर लगाएर उद्घाटन गरिएको थियो । केही समय त्यहा गाडी पार्किङ गरिए । केही समयपछि ब्याट्री चोरी हुने, बसका कर्मचारीमाथि दुर्व्यवहार र असुरक्षाका कारण बस सञ्चालकले पार्किङ गर्न छाडे ।
पूर्वपश्चिम राजमार्गबाट झन्डै १ किलोमिटर उत्तर टेकान टोलस्थित चँदी नदी छेउको सरकारी जग्गामा चारैतिरबाट तारबारले घेरेर दाताको चन्दा सहयोगबाट बसपार्क बनाइएको हो । बसपार्कमा अहिले एउटा पनि गाडी छैन । सुनसान जस्तै छ ।
सदरमुकाम गौर–चन्द्रनिगाहपुरमा झन्डै ३५÷३६ वटा बस सञ्चालनमा छन । तिनलाई पार्किङ समस्या छ ।
बसपार्क बनेलगत्तै ठूलो संख्यामा स्थानीय र गाडी मजदुर भेला भएर बाजागाजासहित बस र आधा दर्जन टाटा सुमोलाई एकैसाथ लाइन लगाएर लगिएको थियो । केही समय मुख्य चोकको अस्तव्यस्त हट्यो । सञ्चालनमा आएको ६ महिनामै बसपार्कमा गाडी लैजान छाडे ।
चोक र सडकछेउमा बस जथाभावी पार्किङ गरेको भन्दै इलाका प्रहरी र जिल्ला ट्राफिकले नगरपालिकाको ध्यानाकर्षण गराउदै आएको छ । नगरपालिकाले पनि धेरैपटक सरोकारवालालाई बोलाएर छलफल गरेको थियो । छलफल निष्कर्षविहीन भएको छ । रौतहट जिल्ला ट्राफिक प्रमुख अनिलकुमार उप्रेतीले सडकमै पार्किङ गर्ने गाडीलाई बसपार्क सञ्चालनमा ल्याई व्यवस्थित बनाउनुपर्ने बताए । चन्द्रपुरको चोक बजार कुरूप हुने गरी जथाभावी सडकमै पार्किङ गर्न थालेपछि व्यवसायी र नगरपालिकाको आलोचना भइरहेको छ । पूर्वपश्चिम राजमार्गको दायाबायँ र गौर सडकमा बस, ट्रक, ई–रिक्सा र जिप सडकमै पार्किङ गर्छन । आव चाडै पार्किङको समस्या हटने चन्द्रपुरका मेयर काफ्लेको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here