गरुडा,२५ जेठ । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कारबाइड प्रयोग गरेर पकाइएको अँंप रौतहटसहित तराईका स्थानीय बजारमा निर्बाध बिक्री वितरण भइरहेको छ । भारतका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कारबाइड प्रयोग गरी पकाइएका आंँप तराईका विभिन्न जिल्लाका शहर बजारमा बिक्रीका लागि धमाधम ल्याउन थालिएको हो । यसरी विभिन्न विषादि प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खान समेत नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादि प्रयोग गरिएका आंँप राखिएका छन् । आँंपमा विषादि हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरुको सुझाव छ । सिभिल हस्पिटलका प्रमुख डा. राम किशोर साहले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिगटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन बताए । विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाई छ । जिललाको चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा अत्यधिक कारबाइड प्रयोग गरिएको आँप निर्बाधरुपमा बिक्री वितरण गरिएको भएपनि त्यसको रोकथाम तर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरेले बताए । उनले मानवस्वास्थ्यको खेलवाड हुने गरी विषादि प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न पनि माग गरेका छन् । बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपनि व्यापारीले कार्बाइड प्रयोग गरेर जेठको दोस्रो हप्ता देखि नै बजारमा बिक्री गर्न थालेका हुन् ।