अशोक पहाडी,डुमरिया,१ असार।
चन्द्रपुर नगरपालिका वडानं ९ डुमरियामा रहेको मुसहर टोलकी किसनवती माझी सोमबार बिहान आफ्नो घरको पानीले भिजेका ओढने ,ओछ्याउने र लगाउने लुगा घाममा सुकाउदै थिईन् । सोमबार मात्र नभएर आकाशबाट पानी परेको रात होस वा दिन उनको घरका लत्ता कपडा र खाने कुरा भिज्ने गरेको छ ।
छंदाखा“दाको आफ्नो फुसको घर भत्काएर पक्की घर बनाई दिन्छु भन्दै जनता आवास कार्यक्रमले भएको घर समेत भत्काएर पक्कीघर बिचमै छाडेर गएपछि सो टोलका दुई दर्जन भन्दा घर परिवारको कन्त बिजोक भएको छ ।
जनता आवास कार्यक्रम अन्र्तगत दुई कोठे पक्की घर त बन्यो न झ्याल छ ,न त ढोकानै छ । डेड बर्ष पहिलाबाट फुसको घर भत्काएर ठेकेदारले बनाउन थालेको घर अधुरै छाडेर ठेकेदार हिडेपछि डुमरिया गाउको मुसहर बस्तिका स्थानीय बर्षाका बेला दिन होस वा रातभर भिजेर बस्न बाध्य रहेकाछन् ।
स्थानीय दुखन माझीका अनुसार जनता आवासको डुमरियामा घर बनाउन ठेक्का लिएकी सलिना खातुनले मधेश प्रदेश सरकारबाट पैसा नआएको भन्दै काम अधुरै छाडेर हिडेपछि आफुहरुले सास्ति खेप्नु परेको दुखेसो गरे ।
दुई कोठे ईट्टा लगाएको घरमा झ्याल र ढोका नभएका कारण हावाहुरी संगै आउने पानीले घर भित्र रहेका सबै लत्ता कपडा र अन्न भिज्ने गरेकोले आफुहरुलाई दुई छाक खान समेत समस्या भएको दुखनको गुनासो छ ।
सो गांउका अधिकांस बासिन्दा ज्याला मजदुरी गरेर जिविका चलाउदै आएका छन् । जनता आवास कार्यक्रमले बनाएको घरको छाना समेत नहाली ठेकेदार भागेका कारण आफुहरुले डोरीले बांधेर अड्याएको जस्तापाता समेत हावाले उडाएर लाने गरेका कारण आफुहरुले बर्षामा बालबच्चा सहित भिजेर बस्नुपर्ने बाध्यता रहेको स्थानीय पाहुन माझीको गुनासो रहेको छ ।
प्रदेश सरकारबाट डुमरियाका दलित बस्तिमा दुई कोठे पक्की घर बनाउन ठेक्का लिएकी सलिना खातुनले घरको झ्याल ढोकाको कुरा त परै जावस जस्ता समेत नहाली हिडेको चन्द्रपुर नगरपालिका वडानं ९का वडा अध्यक्ष नवराज देवकोटाको भनाइ रहेको छ । स्थानीय आफैले बांसले अड्याएर डोरीले बांधेर राखेको जस्ता हावा हुरीले उडाउदा दलित बस्तिमा पानी परेका बेला बिजोक हुने गरेको वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।
आफुले घर बनाउन ठेक्का लिएकी खातुनसंग घर पुरा गर्नका लागि कुरा गर्दा प्रदेश सरकारबाट बांकी पैसा नआएका कारण काम नगरेको जवाफ दिने गरेको वडा अध्यक्ष देवकोटाले बताए ।
तराईमा बर्षाका बेला बिषलु सर्पको बिगबिग हुने गरेको र झ्याल ढोका नभएको घरमा सजिलै सर्प छिर्ने हुंदा सम्बन्धीत निकायले त्यस तर्फ ध्यान दिनुपर्ने स्थानीय बासिन्दा बिक्रम चौधरीको भनाई रहेको छ ।
रौतहट जिल्लाका दर्जनौ स्थानमा जनता आवास कार्यक्रमको नाममा गरिव र दलित जनताको बिजोक भएको कुरा आफुले सांसदमा उठाउदा समेत कसैले ध्यान नदिएको रौतहट क्षेत्रनं ४ का संघिय सांसद देवप्रसाद तिमलसिना बताउछन् ।
पक्की घरमा बस्न पाउने आशमा भएको फुसको घर समेत भत्काउन राजि भएका सो टोलका स्थानीय बासिन्दा यतीबेला बेक्कारमा फुसको घर भत्काउन दिइएछ,भनेर पछुताउन थालेकाछन् ।२०७९ असार १ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।