गौर,९ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाटै दोहोरिन चाहेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई हराउदै सांसद निर्वाचित भएका उनी यस पटक क्षेत्र परिवर्तन गर्नेमा मनस्थितिमा छैनन् । म यसै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गर्दैछु नेता झाले भने, यो क्षेत्र छाड्ने कुरै भएन ।
रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि निर्वाचन क्षेत्र हो । उनी पछिल्लो पटक यो क्षेत्रबाट २०७० सालमा निर्वाचित भएका थिए । २०७४ सालमा भने उनी काठमाडौं–२ बाट निर्वाचित भएका थिए । तर ४ मंसिरमा हुने निर्वाचनमा उनी रौतहटबाट उठ्ने तयारीमा रहेको एकीकृत समाजवादीका नेताहरु बताउछन् । अनिल झा रौतहट–१ बाट २०७४ सालको निर्वाचनमा २१ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४८४ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा मधेशवादी दल छाडेर एमालेमा प्रवेस गरेका अजय गुप्ता पनि चुनाव लडदैछन् । पहिलो संविधासभा निर्वाचनमा गुप्ता नेपालसंग गरिव तीन सय मतले पराजित भएका थिए । उनलाई टिकट दिएर चुनाव जिताउनका लागि एमालेका नेताहरु कम्मर कसेर लागेका छन् । रौतहट १ मा गुप्ता नेपाल बिचनै प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । यता लोसपाका पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने बताउँछन् । नेता भण्डारीले भने, म महोत्तरी–२ र अध्यक्ष (महन्थ ठाकुर) पनि पुरानै क्षेत्र महोत्तरी–३ बाट चुनाव लड्ने तयारी गरिरहेका छौं ।
२०७४ को निर्वाचनमा भण्डारी ३० हजार ७२२ मत ल्याएर महोत्तरी २ बाट निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी थिइन् ।
यस्तै, महोत्तरी–३ बाट महन्थ ठाकुर २७ हजार ५ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत प्राप्त गरेका थिए ।
२०७४ को निर्वाचनमा चर्चित उम्मेदवार मध्येका एक थिए राजेद्र महतो । आफ्नो सर्लाहीको निर्वाचन क्षेत्र छाडेर धनुषा–३ बाट उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । महतोले ३० हजार ७४२ मत पाउदा निधिले २७ हजार ८२८ मत पाएका थिए ।
तर महतो यसपटक धनुषा–३ बाट उम्मेदवारी दिने मनस्थितिमा छैनन् । उनले कूटनीतिक भाषामा पार्टीले निर्णय नगरिसकेको बताउने गरेका छन् । पार्टीले जहाँबाट उम्मेदवारी दिने भन्छ, त्यहींको उम्मेदवार बन्ने हो । अहिले त्यस्तो कुनै निर्णय गरिसकेका छैनौं उनले भने ।
लोसपा नेता उमाशंकर अरगरिया पनि पुरानै निर्वाचन क्षेत्र धनुषा–२ बाटै उम्मेदवारी दिने तयारीमा छन् । २०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अरगरिया ३२ हजार ४४ मत ल्याएर जित्दा वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झा १८ हजार ७ सय १५ मत ल्याएर दोस्रो भएका थिए । म धनुषा क्षेत्र नम्बर २ बाटै चुनाव लड्छु उनी भन्छन्, यस क्षेत्रका जनताले पुनः जिताउनेमा आशावादी छु ।
लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल २०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । यस पटक कहाँबाट निर्वाचन लड्ने भन्ने निर्क्योल भइनसकेको उनी बताउछन् । उनले पार्टीले जहाँबाट, जुन तहमा लड्न निर्देशन दिन्छ, आफू त्यसकै निम्ति तयार रहेको बताए ।
२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताहरु सबैले चुनाव जितेका थिए । त्यतिबेला राजपा अध्यक्ष मंण्डलमा रहेका नेतामध्ये राजकिशोर यादव हाल जनता समाजवादी पार्टी (जसपा)मा र महिन्द्र राय यादव नेपाल समाजवादी पार्टी (नेसपा)मा छन् ।
लोसपाले मधेश प्रदेशलाई आफ्नो आधार क्षेत्र मान्दै आएको छ । नेता अनिल झा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो सिट आउन सक्ने भएपनि आधार क्षेत्र मधेश प्रदेश नै भएको बताउछन् ।
नेता शरतसिंह भण्डारी पहिलेको निर्वाचनमा भन्दा राम्रो परिणाम ल्याउने गरी तयारी गरेको बताउछन् । हामी निर्वाचनको तयारीमा लागिपरेका छौं, उनले भने, अहिलेको अवस्थाभन्दा हामी कमजोर हुदैनौं । यो भन्दा राम्रो परिणाम पनि आउन सक्छ ।
२०७४ को निर्वाचनमा सम्पूर्ण शीर्षस्थ नेताले जित्नुको प्रमुख आधार थियो गठबन्धन । तत्कालिन राजपा र संघीय समाजवादी फोरमबीच चुनावी गठबन्धन बनेको थियो । यो गठबन्धनले सार्थकता पाउँदा दुबै पार्टीका शीर्ष नेताहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे ।
२०७४ को निर्वाचनमा गठबन्धन बनाएका यी दुई दल अहिले दुईतिर छन् । तत्कालिन संघीय समाजवादी फोरम (अहिलेको जनता समाजवादी पार्टी) सत्तारुढ गठबन्धनमा छ भने अहिलेसम्म लोसपा एक्लै छ । एक वर्षअघिसम्म यी दुई दलको एकता भएर नै जसपा बनेको थियो । पछि पूर्व राजपाका नेताहरु बाहिरिएर लोसपा बनाएका छन् । लोसपाका नेता गजेन्द्र मण्डल ४ मंसिरको निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्ने बताउछन् ।
नेता भण्डारी पनि सत्तारुढ गठबन्धनसंगै कुराकानी भइरहेको बताउँछन् ।
यो गठबन्धनसँग धेरै कुरामा सहमत छौं । त्यही भएर गठबन्धन हुन्छ उनले भने । एमालेले नागरिकता विधेयकको विरोध गरेकाले उनीहरुसंग गठबन्धन हुने सम्भावना नभएको उनी बताउछन् ।