वीरगंज,१७ भदौ । रौतहटको मैलापुरका एक सर्वसाधारण बाराका एकजना मिटर व्याजीको चंगुलमा फंसेर घर न घाटका भएका छन् । मिटरब्याजीको चंगुलमा फसेर सास्ती खेप्नुपरेको तथा घरबारविहीन हुन पुगेको भन्दै बुधबार वीरगञ्जमा एकैपटक तीन घरपरिवारका सदस्यले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेका छन् ।
सबै जग्गा जमिन बेचेरे दिए पनि अहिलेसम्म कर्जा जस्ताको तस्तै रहेको भन्दै पीडितले मिटरब्याजीलाई कारवाहीको माग गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–२ सोनरनियाका दयाशङ्करप्रसाद यादवले २०७६ साल असोज महिनामा बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसग १४ लाख रुपैयँ ऋण लिएका थिए ।
ऋणको व्याजबापत उनले रु ४२ लाखभन्दा बढी तिरिसकेको भए पनि ऋण चुक्ता हुन नसकेको दयाशङ्करकी आमा सुनैना देवी र श्रीमती सन्ध्या यादवले बताइन् । उनीहरुले मिटरब्याजी अनिललाई कारवाहीको माग गरे ।
ऋण चुक्ता गर्ने बेला नगदमा पैसा लिएको तर विश्वासका लागि भन्दै ऋण लिने तथा तमसुक बनाउने बेला मिटरब्याजी अनिलले लिएको चेक हाल पैसा दिए पनि जानीजानी बाउन्स गराई आफ्नो छोरालाई कारागार पठाउन बाध्य बनाएको ७३ वर्षीया आमा सुनैना देवीले गहभरी आंशु पार्दै भनिन् । उनले मिटरब्याजीका कारण आफ्नो परिवार सडकमा आएको गुनासो गरिन् ।
अनिल बाराकै प्रसौनी गाँउपालिका–३ नौतन गण्डकस्थित रामजानकी आधारभूत विद्यालयमा कार्यरत शिक्षक रहेको बुझिएको छ । आफू मिटरब्याजीको धन्दा चलाउने व्यक्ति नभएको र आफ्नो बद्नामी चाहने व्यक्तिहरुले आफूविरुद्ध उजुरी हालेको उनको भनाइ छ ।
हालै सरकारले मिटरब्याजीविरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसँगै तीन जनाको उजुरी परेको छ । अनिलविरुद्ध सुनैनासँगै बाराकै कलैया उपमहानगरपालिका–१ का युगलकिशोर यादव र महागढीमाई नगरपालिका–७ का किशोरीप्रसाद यादवले पनि उजुरी हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here