रौतहट,२१ असोज । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटको गुजरा नगरपालिकाको मेयर उम्मेदवार रहेका नेकपा एसका प्रभावशाली नेता केशव राय चौधरीसहित दर्जन नेताहरुले पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । मधेशमा प्रभावशाली नेताका रुपमा स्थापित एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको पहलमा उनीहरु एमाले प्रवेश गरेका हुन् ।
बिहीबार एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा चौधरीसहित एकीकृत समावादीका जिल्ला सदस्य सकिल अंसारी, सोबिन्द्र चौधरी लगायत अन्य महत्वपूर्ण जिल्ला सदस्यहरु एवं विभिन्न वडाध्यक्षका प्रत्याशीहरुलाई पार्टी प्रवेश गराएका हुन् । सकिल अन्सारी जनआन्दोलनका शहिद ताहिर हुसेन अंसारीका छोरा हुन् ।
गत स्थानीय निर्वाचनमा गुजरा नगरपालिकाको मेयर प्रत्यासी केशव चौधरी झिनो मतान्तरले जसपा–कांग्रेस गठबन्धनसंग पराजित भएको थिए । जसपा उम्मेदवार सन्तलाल चौधरीले ५१४३ मत ल्याएर निर्वाचित हुँदा केशव चौधरीले भने ४७९९ मत ल्याएका थिए ।