रौतहट,१३ कार्तिक मिथिलाञ्चलको विशिष्ट पर्व छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ।
कार्तिक शुक्ल चतुर्थीमा व्रतविधि सुरु गरेका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत पूरा हुन्छ।
व्रतालुले दिनभर निराहार व्रत गर्नेछन्। साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यो विधिलाई मिथिलाञ्चलमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भनिन्छ।
षष्ठीका दिन निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य दिँदा दुःख र दरिद्रताबाट मुक्ति पाइने र छालाको रोग लाग्दैन भन्ने विश्वास छ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतालुले यो व्रत सुरु गर्छन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्छन्। षष्टीमा अस्ताउँदो र सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ।
छठमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। अर्थ अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउँछन्। छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ।

विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठ मधेशी समुदायको बसाइँसराइसँगै अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ। काठमाडौंका नदी किनार तथा तलाउमा पनि छठपूजा गर्नेको रौनक छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको लोककथन छ।

अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको पनि कथन छ। फलस्वरूप उनले अटल सौभाग्य र पतिको प्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने सुरु भएको माानिन्छ।

आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको पुराणमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here