‘माधव नेपालले २६ वर्षमा गरेकोभन्दा बढी विकास मैले दुई वर्षमै गरेँ’
आसन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अजय गुप्ता ‘हेभीवेट’ नेता माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्दैछन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।
एमाले उम्मेदवार गुप्ता भने माधवकुमार नेपाललाई आफ्नो प्रतिस्पर्धी नै मान्दैनन् । आसन्न निर्वाचनकै विषयमा केन्द्रित रहेर गुप्तासँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
चुनाव प्रचार अभियान कस्तो चलिरहेको छ ?
राम्रै भइरहेको छ । मतदाताको घरदैलोमा जाँदा राम्रो समर्थन प्राप्त भइरहेको छ । जनता उत्साहित छन् । जनता मलाई जिताउन एकदम ब्याकुल छन् ।
तपाईलाई यस क्षेत्रका जनताले किन मत दिने ?
म यही क्षेत्रको छोरा हुँ र म जनताकै बीचमा बस्छु । जनताको समस्या समधानका लागि सधैँ भूमिका निर्वाह गर्दै आएको छु । मलाई चिन्नेहरु बाहिरको मान्छेलाई किन मत दिने, मत तपाईलाई नै हो भन्छन् । यसअघि जसले चुनाव जित्यो, ऊ पाँच वर्ष आफ्नो क्षेत्रमा फर्केर आएन, विकास गरेन । मानिसहरु त्यस्ता मानिसलाई भोट दिन तयार छैनन् ।
म भने सधैं चुनाव क्षेत्रमा बस्ने, गाउँ–टोलमा बस्ने उम्मेदवार हुँ । जनताको सुखदुःख, जनताको विकासको कुरालाई सक्रियताका साथ सदैव उठाइरहने गरेको छु । समस्या समाधानमा अग्रसर रहने भएकाले यस क्षेत्रका जनताले मलाई मत दिनुहुन्छ ।
तपाईको प्रतिस्पर्धा शत्तिशाली नेतासँग छ, पूर्व प्रधानमन्त्री, नेकपा एकीकृत समाजवादीका अध्यक्ष र सत्ता गठबन्धनका उम्मेदवार माधव नेपालसँग लड्दा कत्तिको चुनौती महसुस भइरहेको छ ?
छैन, चुनौती छैन । उहाँसँग प्रतिस्पर्धा नै छैन । यो रौतहट क्षेत्र नम्बर १ को चुनाव एकतर्फी हाम्रो पक्षमा हुनेछ । हामीले ठूलो मत ल्याएर जित्नेछौं । तपाईले शक्तिशाली नेता भन्नुभयो, त्यो त उहाँलाई जनताले शक्तिशाली बनाएको थियो । जनताको समस्या समधानका लागि, यस क्षेत्रको विकासका लागि उहाँले कुनै पनि भूमिका निर्वाह गर्नु भएन । देशको सर्वोच्च पद प्रधानमन्त्री भएर पनि यो क्षेत्रको विकास गर्न जोड दिनुभएन ।
म मेयर हुँदा साढे चार वर्षको कार्यकालमा दुई वर्ष कोभिडले काम गर्न कठिन भयो तर त्यसबेला पनि मैले जति काम गरेँं, त्यति गठबन्धनका उम्मेदवार माधव (नेपाल) जीले २६ वर्षमा पनि गर्नु भएन ।
भनेपछि माधव नेपाललाई तपाईले आफ्नो प्रतिस्पर्धी नै ठान्नु भएको छैन ?
छैन । उहाँलाई प्रतिस्पर्धी (बलियो) ठानेको छैन ।
उहाँ त त्यत्रो शक्तिशाली नेता ?
नेता शक्तिशाली त जनताको मतले हुने हो । जनताको समर्थनले न नेता हुने हो । जनसमर्थन नै छैन भने कसरी शक्तिशाली ?
तपाईको जितको आधारचाहिँ के हो ?
म टोल टोलमा जाँदा जनता उत्साहित छन् । जनतामा नेकपा एमालेप्रति विश्वास छ । जनतामा अजय गुप्ताप्रति विश्वास छ । त्यो मेरो एउटा ठूलो शक्ति हो । र जनताको शक्ति र मतले म विजयी हुन्छु । यो क्षेत्रको समग्र विकास गर्छु । जनताका जति पनि समस्या छन्, तिनलाई समाधान गर्छु ।
जनता समाजवादी पार्टीसँग तपाईहरुको देशव्यापी तालमेल छ । तर यही गठबन्धनकै कारण प्रभु साह तपाईहरुसँग असन्तुष्ट बनेर पार्टी छाड्नुभयो । रौतहट प्रभु साहको एकदम वश्र्चस्व भएको जिल्ला मानिन्छ । त्यसको प्रभाव के हुनेछ ?
प्रभु साहको ‘च्याप्टर क्लोज’ भइसक्यो । प्रभु साह एमालेमा हुनुहुन्न । म एमालेबाट उम्मेदवार छु ।
तर प्रभु साहसँग हिजो एमालेमा आएकाहरु उतै फर्किए त ? तपाईहरुलाई घाटा लाग्दैन ?
कुनै घाटा लाग्दैन । मलाई प्रभु साहले मत दिने होइन, यो क्षेत्रको जनताले मत दिने हो । र, यस क्षेत्रका जनताले यहाँको नेता चुनिसकेका छन् । तिनले अजय गुप्तालाई ‘जनताको छोरा’ मानिसकेका छन् । म जनताको बीचमा बस्ने मान्छे हो र त्यो नाताले मैले जनताको अपार समर्थन हासिल गरिरहेको छु ।
जसपासँगको गठबन्धनको कारण तपाईको पार्टीमा आन्तरिक विवाद छ, असन्तुष्टि छ त्यसलाई कसरी मिलाउनुहुन्छ ?
कुनै विवाद छैन । अहिले पनि यो घरदैलो कार्यक्रममा जसपाका पूर्व माननीय रम्भा देवी हामीसँगै हुनुहुन्छ । त्यसैले हामीबीच कुनै विवाद छैन ।
तपाईहरुकै पार्टी एमालेभित्र पो विवाद छ त ?
मलाई लाग्दैन कि एमालेभित्र कुनै विवाद छ । जो मानिस असन्तुष्ट थिए, तिनले पार्टी छाडेर गइसके ।
सभार ः रातोपाटी डटकम