कटहरिया,२५ कार्तिक ।नविन प्रसाद चौरसिया रौतहटको राजनितिमा नविनतम नाम । असोज २३ गतेसम्म उनलाई चिन्ने खासै थिएनन् । तर असोज २३ गते प्रतिनिधि सभा सदस्य पदको लागि रौतहट क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि उनको रौतहटको राजनितिमा उदय भएको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत छात्रवृतिमा २०६६ सालमा डिप्लो इन इलेक्ट्रिकल इन्जिनियर गरेका चन्द्रपुरमा डेरी र इलेक्ट्रोनिक्स व्यवसाय गरेर बसेको र राजनितिमा खासै रुचि नराख्ने युवा नविनलाई परिवर्तनको हुटहुटीले राजनितिमा ल्यायो । रवि लामिछानेको ठुलो फ्यान रहेका उनलाई लामिछानेले पत्रकारिता छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनितिमा आएपछि उनलाई पनि राजनितिमा आएर केही गर्नुपर्छ भन्ने सोचले उनलाई राजनितिमा आउन प्रेरित गरिह्यो । रौतहटको क्षेत्र नम्बर ३ को देवाही गोनाहीमा जन्मे हुर्केका उनलाई आफ्नो क्षेत्रमा रहेको पिछौडापन, गरिबी , अभाव , समस्याले पोलिरहन्थ्यो । विकास निमार्णको नाममा हुने भ्रष्ट्रचार, कमिसनको चक्कर , कमसल कामहरु बन्द हुनुपर्छ भन्ने सोचले उनलाई झक्झकाइरहन्थ्यो । सानोभन्दा सानो काममा पनि जनताले सोर्स लगाउन नेता गुहार्नुपर्ने, घुस खुवाउनुपर्ने , कार्यालय कार्यालय, कोठाकोठा चहार्नु पर्ने , धाउनुपर्ने दिनको अन्त्य भएको हेर्ने उनको चाहाना थियो । तर यो सबको लागि उनी मात्र नविन चौरसिया भएर सम्भव थिएन , त्यसको लागि उनी माननिय नविन चौरसिया हुनुपर्ने महशुष गरेर उनी चुनावी मैदानमा ठुलो चुनौतिको सामना गर्दै होम्मिए । राजनित बक्ररेखामा चल्छ तर नविनको लागि राजनिति सिधारेखामा मात्र चल्छ । उनले बुझेको सिधा राजनिति नागरिक र समाजको हितमात्र हो । उनलाई चुनाव नलड्न भनेर सम्झाउनेको कमि थिएन् । ‘तँ त बेमौत हार्छस्’ ‘तेरो जमानत जफत हुन्छ’ भनेर उनलाई निराश बनाउने पनि धेरै थिए । उनलाई हार्ने राजनिति लागेर आफ्नो व्यवसाय चौपट नपार्न सुझाउनेहरु पनि थिए । तर जनताको लागि माननिय बन्ने यात्रामा अघि बढेका उनी जेभएपनि पछाडि फर्कन चाहेनन् । नविनको माननिय बन्ने यात्रा भने एकदमै कठिन छ , अझ भन्नुपर्दा असम्भव छ । उनी एउटा त्यस्ता व्यक्ति विरुद्ध चुनावी मैदानमा छन् जो राजनितिमा निकै चतुर खेलाडी मानिन्छन् । उनको प्रतिष्पर्धी रहेका प्रभु साह सो क्षेत्रबाट १५ वर्षदेखि निरन्तर जित्दै आइरहेका छन् । सो क्षेत्रमा उनको निकै ठुलो प्रभाव रहेको छ । उनी जहाँ जान्छन् उनलाई सयौंको संख्यामा रहेका उनका समर्थकले घेर्ने गरेका छन् , टाउको पुरिनेगरि मालाले स्वागत गर्ने गरेका छन् । सो क्षेत्रमा विशेष गरी सडक संजालको विकासमा प्रभु साहको योगदानको चर्चा गरेर थाक्दैनन् उनका समर्थकहरु । उनका समर्थकहरुले उनका ‘विकास पुरुष’ उपाधि पनि दिएका छन् । सो क्षेत्रमा साहलाई हराउन असम्भव रहेको उनका समर्थको बुझाइ छ । प्रभु साहलाई नचिन्ने सायद सो क्षेत्रमा छैनन् होला । तर नविन चौरसियालाई कमैले चिन्ने गरेका छन् । त्यसैगरी नविनका अर्का प्रतिष्पर्धी ओमप्रकास जयसवाललाई पनि स्थानिय नेपाली कांग्रेस र एकिकृत समाजवादीको साथ पाएर निकै वलिया भएका छन् । जयसवाल प्रभु साहलाई हराएर इतिहास रच्ने दाउमा साम, दाम, दण्ड, भेद जेपनि प्रयोग गर्न पछि नपर्ने देखिएको छ । गठबन्धनको केन्द्रिय समर्थन पाएर अझ वलियो बनेका साह र जयसवाललाई हराउनु चौरसियाको लागि फलामको च्युँरा चपाए सरह हुनेछ । भनिन्छ राजनितिमा सफल हुन ‘मनी एण्ड मसल’ चाहिन्छ । तर नविनसँग दुबै छैन् तर उनका प्रतिष्पर्धीसँग दुबै छन् । । पैसा दिएर , मासुभात खुवाएर , भोज भतेर गरेर , सारी, माछा बाँडेर चुनावमा मत आफ्नोतर्फ पार्न उम्मेदवारहरु लागि पर्छन् भन्ने सत्यता पनि हामीबाट लुकेको छैन् । चुनाव जित्नै लागि करौडों रकम खर्च गर्नु परेको अनुभव नेपालका शिर्ष नेताहरुले सार्वजनिक मञ्चबाटै स्विकार गरेका छन् । तर नविनसँग यी सबै कुरा गर्न पैसा छैन् । यहाँसम्म उनका अघिपछि लागेर प्रचारमा हिडेका कार्यकर्तालाई अधिकांस समय दालमोट , भुजा, चिउरा , पकौडा खुवाएका छन् । आफ्नो एउटा व्यक्तिगत गाडी प्रयोग गरेर चुनावी प्रचारमा हिडेका उनले खासै तामझाम पनि देखाएका छैन् । उनका प्रतिष्पर्धीहरु जस्तो घरदैलौमा जाँदा उनका पछाडि ठुलो भिड पनि छैन् । ‘मनी एण्ड मसल’ नभएपनि नविनसँग विचार छ , इमानदारिता छ अनि कुशासन र दण्डहिनताको अन्त्य गर्ने हुटहुटी छ अनि परिवर्तनको लहर छ , रहर छ । उनी यसकै दममा चुनाव जित्ने दावी गर्दै जनतालाई आफ्नो एजेण्डा बुझाउन घर घरमा पुग्दैछन् । दुषित राजनिति र नैतिकहिन नेताहरु देखेर वाक्कदिक्क भएका क्षेत्र नम्बर ३ का जनताहरुले पनि नविनलाई विकल्पको रुपमा हेर्न थालेका छन् । उनीहरुले दिल खोलेर नविनलाई शुभेच्छा दिइरहेका छन् । उनीहरुको शुभेच्छा मतमा परिणत हुन्छ कि हुँदैन् त्यसका लागि मंसिर ४ कुर्नेपर्ने हुन्छ । ठुला दल र नेताभन्दा विकल्प नसोच्ने परिपाटीले ग्रस्त हाम्रो समाजमा नविनले परिवर्तनको नारा दिएर उम्मेदवारी दिने दुस्साहस गरेका छन् । उनले देश विदेशमा चर्चा कमाएका प्रभु साहलाई हराएर चुनाव जित्छुँ भन्ने दुस्साहस गर्दैछन् । उनले कांग्रेस, समाजवादीको साथ पाएका ओम प्रकाशलाई हराउँछु भन्ने दुस्साहस गरेका छन् । उनले पैसा र मासु भातमा होइन विचार र एजेण्डामा चुनाव जित्ने दुस्साहस गर्दैछन् । उनले कमिसन सहितको देखाउने विकास होइन कमिसन रहित दिगो विकास गर्छु भन्ने दुस्साहस गर्दैछन् । उनको यो दुस्साहसलाई रौतहट क्षेत्र नम्बर ३ का मतदाताले साथ दिन्छन् कि दिदैनन् मंसिर ४ पछिका केही दिनपछि थाहा हुनेनै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here