चन्द्रपुर,३० कार्तिक ।
रौतहट क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उद्धव रेग्मीको लोकप्रियता बढ्दै गएको छ ।
विगतमा तत्कालीन चन्द्रनिगापुर गाविसको अध्यक्षमा निर्वाचित भई उनले गरेका सुधारका कामले स्थानीय जनताको मनमस्तिष्कमा उनीप्रतिको आशा र विश्वासलाई बढाउँदै लगेको नेकपा एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव आचार्यले बताए ।
रेग्मी भाषण गर्ने मात्र होइन, काम गरेर देखाउने र विगतमा उनले स्थानीय क्षेत्रको विकास गरेर यो कुराको पुष्टी गरिसकेका छन् ।
पाच वर्षअघिको स्थानीय तह निर्वाचनमा चन्द्रपुर नगरको मेयर पदका प्रत्यासी रहेका उनले लोकप्रिय मत प्राप्त गरे पनि केही प्राविधिक कारणले मात्र पराजय भोग्नु परेको थियो । यसपटक मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेले उनको लोकप्रियतालाई बुझेर प्रतिनिधि सभाको टिकट दिए पछि उनी चुनावी अभियानमा होमिएका छन् ।
क्षेत्र भरीका वडा र गाउटोलमा पुग्दा उनलाई स्थानीय जनताले देखाएको माया र सद्भावबाट पनि उनी प्रतिष्पर्धी उम्मेदवार भन्दा अगाडि रहेको आंकलन गर्न थालिएको छ ।
उनी विकासप्रेमी नेता हुन्, त्यसकारण पनि उनलाई के बृद्धबृद्धा, के युवा, के महिला, के दलित जनजाति, के पहाडी, के मधेसी सबैले उत्तिकै रुचाएका छन् । यसपटक उनै रेग्मीलाई यस क्षेत्रबाट जिताएर अब तत्कालीन गाविस अध्यक्ष हुँदा उनले गरेको काम अब क्षेत्रभरी नै बिस्तार गर्ने अवसर प्रदान गर्नु पर्छ भन्ने आम बुद्धिजीवीहरुको भावना रहेको बुझिन्छ ।
यसपटकको निर्वाचनमा संघीय संसदको टिकटका सन्दर्भमा नेपाली काँग्रेसका नेता कार्यकर्ता भित्र रहेको तीब्र असन्तुष्टीको फाइदा रेग्मीले उठाउन सक्छन् । अर्कातिर काँग्रेसका बागी उम्मेदवार अजय साहले पनि राम्रै भोट काट्न सक्छन् र त्यसको फाइदा पनि उनै एमाले उम्मेदवार रेग्मीलाई हुने देखिन्छ ।
नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्ताहरु पनि गठबन्धनमै रहे पनि काग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनालाई भोट दिनुभन्दा कम्युनिष्ट घटकबाटै निर्वाचन लडेका रेग्मीलाई मतदान गर्न सहज ठान्छन् ।
तत्कालीन नेकपा एमाले बिभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) को पनि संघीय संसदतर्फ आफ्नो पार्टीको उम्मेदवारी नरहेको अवस्थामा विगतमा संगै एउटै पार्टीमा रहेका रेग्मीलाई नै साथ रहन सक्ने आंकलन गरिएको छ । तर, यसबारेमा एकीकृत समाजवादीका नेताकार्यकर्ताहरु अहिलेसम्म केही खुलेका छैनन् ।
स्थानीय तहको निर्वाचनमा पनि यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरुले राम्रै भोट ल्याएको अवस्था र उम्मेदवार रेग्मीको लोकप्रिय मत, काँग्रेस र माओवादीका नेता कार्यकर्ताहरुबीच चर्को द्वन्द्व तथा यस क्षेत्रमा गठबन्धन दलभित्रै उत्पन्न विवाद र मतभेदका कारण नेकपा एकीकृत समाजवादीको सद्भाव पनि रेग्मीप्रति नै रह्यो भने निर्वाचनमा विपक्षी उम्मेदवारलाई उनले सजिलै पराजीत गर्न सक्ने चर्चा चल्न थालिसकेको छ ।
उत्तरी क्षेत्रमा रहेका पहाडी समुदायमा रेग्मीको लहर आएको छ भने पछिल्लो समय दक्षिणी क्षेत्रका मधेसी समुदायमा पनि रेग्मीको लोकप्रियता ह्वात्तै बढेको देख्न सकिन्छ । आजसम्मको अवस्था हेर्दा रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा रेग्मीको जीतलाई कसैले रोक्न नसक्ने चन्द्रपुर २ जुडिबेलाका एमाले नेता खेम कार्कीको भनाई छ । यही क्रमलाई अब चार–पाँच दिन कायम राख्न सकेको खण्डमा रेग्मीको जीत सुनिश्चित रहेको उनको भनाई छ ।