जनकपुर,१३ मंसिर ।
यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउंदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।
संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाको गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ ।
प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ। अन्तिम नतिजा आउन बाँकी धनुषा ४९२० मा एमाले उम्मेदवार अगाडि छन् ।
वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा चार्चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी–३ (१), धनुषा– ३ (१), धनुषा– ४ (१), सर्लाही– २ (१), सर्लाही– २ (२), सर्लाही–४ (१), रौटहट– १ (१), रौटहट– १ (२), रौतहट– ३ (२), पर्सा– २ (१), पर्सा– ३ (२), पर्सा– ४ (१) र धनुषा १ (१) मा जितेको छ ।
त्यसैगरी लोसपाले पर्सा– २ (२), महोत्तरी–२ (१), महोत्तरी– ३ (१), महोत्तरी–३ (२), सर्लाही–१ (१), सिरहा–४ (२) र बारा–४ (२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही– ४ (२), महोत्तरी– १ (२), रौतहट– ४ (१) र पर्सा– १ (१) मा जितेको छ । एकीकृत समाजवादीले रौतहट– २(२) सर्लाही– १ (२), सिरहा– ३ (२) र सप्तरी–४ (१) मा जितेको हो ।
एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेका छन्। एमालेले सप्तरी–१ (१), सिरहा–१ (१), सिरहा–२ (२), सिरहा ३ (१), धनुषा–१ (१), धनुषा–२ (१), धनुषा– ३ (२), रौतहट– २ (१), बारा–१ (१), बारा ३ (१), बारा–४ (१), बारा–३ (२), महोत्तरी १ (१) र महोत्तरी–४ (१) मा जितेको छ । जसपाले धनुषा–२ (२), पर्सा– १ (२), पर्सा–४ (२), बारा–१ (२), रौतहट– ४ (२), सर्लाही–३ (२), सिरहा–१ (२), बारा–२ (२) र महोत्तरी ४ (२) मा जितेको हो ।
यी दुई गठबन्धनबाहेक जनमत पार्टीले छ र स्वतन्त्र उम्मेदवारले छ क्षेत्रमा जितेका छन्। जनमत पार्टीले सप्तरी–१ (२), सप्तरी–२ (१), सप्तरी– २ (२), सप्तरी–३ (२), सिरहा– ४ (१) र सिरहा– २ (१) मा जितेको छ । स्वतन्त्र उम्मेदवारले पर्सा–३ (१), बारा–२ (१), महोत्तरी– २ (२), रौतहट–३ (१), सर्लाही– ३ (१) र सप्तरी– ४ (२) मा जितेका हुन् ।
समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार ११४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार ९०२ मतसहित एमाले दोस्रो स्थानमा छ ।
त्यसैगरी जसपाले दुई लाख २७ हजार ४७०, जनमत पार्टीले दुई लाख २१ हजार ८६७, माओवादीले एक लाख ४० हजार ८२८, एकीकृत समाजवादीले ९३ हजार ४६२ र लोसपाले ८० हजार ५८० मत प्राप्त गरेको छ ।
अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ संघीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए। १०७ सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो ।
त्यो वेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन ।
अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here