चन्द्रपुर,२१ मंसिर ।
जिल्लामा प्रतिनिधि सभामा जम्मा ९ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् ।
रौतहट क्षेत्र नम्बर १ मा ५२.३७ प्रतिशत मत ल्याएर एकिकृत समाजवादीका माधव कुुमार नेपाल , ४२ं.०५ मत ल्याएर अजय कुमार गुप्ताले मात्र जमानत जोगाएका छन् । रौतहट क्षेत्र नम्बर २ मा ५०.८१ प्रतिशत मत ल्याएर स्वतन्त्र उम्मेदवार किरण कुमार साह , ४३.७० प्रतिशत मत ल्याएर नेपाली कांग्रेसका मो. फिरदोष आलमले मात्र जमानत जोगाएका छन् ।
त्यसैगरी रौतहट क्षेत्र नम्बर ३ मा तीन जना उम्मेदवारको मात्र जमानत जोगिएको छ । दुई जना स्वतन्त्र उम्मेदवारहरु प्रभु साहले ४५.७२ प्रतिशत मत ल्याएर, ओमप्रकाश जयसवालल ३५.५२ प्रतिशत मत ल्याएर तथा माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले १२.०६ प्रतिशत मत ल्याएर जमानत जोगाउन सफल भएका छन् ।
यता रौतहट क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिनाले ४८.८२ प्रतिशत मत ल्याएर , नेकपा एमालेका उद्धव प्रसाद रेग्मीले ३७.९५ प्रतिशत मत ल्याएर जमानत जोगाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रौतहट क्षेत्र नम्बर १ मा १५ जना, २ मा ११ जना, ३ मा १६ जना तथा ४ मा १६ जनाको जमानत जफत भएको छ । प्रतिनिधि सभामा रौतहट बाट ६७ जना उम्मेदवारहरु विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा थिए ।
प्रतिनिधि सभा सदस्य बन्नको लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने नियम रहेको छ । खसेको सदर मतको १० प्रतिशत वा बढि ल्याउने उम्मेदवारले सो धरौटी फिर्ता हुने र सो भन्दा कम ल्याउनेको जफत हुने नियम रहेको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए । जमानत जफत भए वापत रौतहट जिल्लाबाट ५ लाख ८० हजार राजस्व संकलन हुने उनले बताए ।
जिल्लाका अधिकांस उम्मेदवारले आफ्नो जमानत जोगाउन नसकेको अवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले जनयो ।