कटहरिया,२३ मंसिर ।
रौतहटमा बिजुलीको ट्रान्सफर्मरनै चोरी हुन थालेको छ । जिल्लाका बिभिन्न स्थानमा बितेको एक महिना भित्र तीनवटा ट्रान्सफर्मर चोरी भएको हो । पछिल्लो समय जिल्लाका ट्रान्सफरमर चोरहरूको गिरोह सक्रिय भएको पाईन्छ । फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुर सन्तपुर जाने कालोपत्रे सडक छेउमै सिंचाइ प्रयोजनको लागि रहेको विद्युत ट्रान्सफर्मर गएराती चोरी भएको छ । १०० एम्पिएरको ट्रान्सफर्मर चोरी भएको स्थानीय समाजसेवी चन्द्रकिशोर यादवले बताएका छन ।
विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल सेवा बन्द भएको छ । गहुं खेतीको समयमा डिप ट्युबवेल सिंचाइ बन्द हुंदा फतुवा गाउंका दर्जनौं किसान कठिनाइमा परेको स्थानीय अजय यादवले बताएका छन् । किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब उक्त स्थानमा अर्को ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गराउन यादवले माग गरेका छन ।
यसअघि कटहरिया ४ बालुवा कटहरिया जाने बाटोमा डिप ट्युबवेल नजिक रहेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो । चोर समूहले उक्त डिप ट्युबवेलसंग जोडिएको विद्युतको तार र १०० एम्पिएरको ट्रान्सर्फमर चोरेर लगेको नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख संजिवकुमार दाशले जानकारी दिए ।
त्यसैगरी बौधिमाई नगरपालिका ४ दुर्गा मन्दिर छेउमा रहेको १०० एम्पिएरको विद्युत ट्रान्सफर्मर दुई साता अघि चोरी भएको थियो । प्राधिकरण प्रमुख दाशका अनुसार १०० एम्पिएरको एउटा ट्रान्सर्फमरको बजार मूल्य ४ लाख रूपैयां पर्छ । चोरहरुले विद्युतरुको तारमाथि साइकलको चेन फालेर ट्रान्सर्फमरको फ्युज निष्क्रिय बनाएर चोरी गर्दछन । उनीहरुले ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल तार बिक्री गर्ने गरेको प्राधिकरण प्रमुख दाशले अनुमान गरेका छन् ।
यता रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका बिभिन्न स्थानबाट एकै रातमा छुट्टाछुट्टै स्थान बाट दुईवटा पम्पसेट चोरी भएको छ । गहुबारीमा पानी पटाउन बोरिङमा जोडिएको ८ हर्षपावरको दुईवटा पम्पसेट बुधबार राती चोरी भएको हो । फतुवा विजयपुर १ गमहरिया गाउं छेउ खेतमा रहेको स्थानीय सन्तलाल यादव र परमानन्द यादवको पम्पसेट चोरिभएको पीडितहरुले बताएका छन । गहुंको सिजनमा पम्पसेट चोरी हुनु तथा सिंचाइको अन्य सुविधा नहुनुले दर्जनौं किसान लाई ठुलो समस्या भएको स्थानीय किसान दिपलाल यादवले दुखेसो पोखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here