अशोक पहाडी
रौतहट,१४ पुस । कठ्याङग्रिदो चिसोमा रौतहटको एक दलित बस्तीका बासिन्दा पराल ओछ्याएर सुत्न बाध्य रहेकाछन् । चन्द्रपुर नगरपालिका वडानं ९ डुमरियामा रहेका करिव ९५ घर मुसहर बस्तीका बासिन्दा राम्रो ओढने ओछ्याउने नभएका कारण पराल ओछ्याएर सुत्न बाध्य भएका हुन । दिनभरी ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्ने दलित बस्तीका बासिन्दा चिसोका कारण काममा समेत जान नसकेको बताँउछन् ।
सरकारले जनता आवस कार्यक्रम अन्र्तगत बनाईदिएको पक्की घर समेत गुणस्तरहिन भएका कारण उनीहरुलाई बर्षाको पानी घर भित्र छिर्ने ,चैत बैशाखमा हवा हुरीले सताउने र जाडोको बेला जस्तापाता बाट शित झरेर सुत्नै नसक्ने अवस्था भएको स्थानीय बासिन्दा रामदेव माझीले बताए ।
तराईमा बढेको शित जस्ता पाताबाट घर भित्रनै तपतप चुहिने गरेकाले घरमा पराल ओछ्याएर सुतेपनि माथि बाट सरिरमा शित झर्ने गरेको रामदेवको भनाइ रहेको छ । गरिव तथा विपन्न मुसहर बस्तीको कन्तबिजोकको बारेमा तीनै तहको सरकारले वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ ।
झ्याल ढोका नभएका नाम मात्रको पक्की घरमा बस्नै नसक्ने अवस्था रहेको स्थानीय शान्ति देवीको भनाइ रहेको छ । शितलहरीमा घर भित्रै शित झर्ने ,बर्षाको पानी पनि घर भित्रै छिर्ने र हावाहुरीका बेला बेलापनि घरमा पकाएर खान नसक्ने अवस्था रहेको शान्तिदेवीको गुनासो छ ।