चन्द्रपुर,२० पुस ।
रौतहटको चन्द्रनिगाहपुरका ई रिक्सा चालक केदार तिमलसिनालाई यतीबेला गरिव तथा विपन्न परिवारका लागि न्यानो कपडा बितरण र संकलन गर्न भ्याइ नभ्याइ छ । आफ्नो काम छाडेर अरुको सेवा गर्ने कमै मनकारी भेटिन्छन् । ती मध्य एक हुन रौतहटका ई रिक्सा चालक तिमलसिना । आफै गरिब, मजदुरी गरेर परिवार पाल्ने एक रिक्सा चालकलाई जाडो सुरु हुनासाथ भ्याई नभ्याई हुन्छ । उनलाई उनको रिक्सामा यात्रु राखेर पैसा कमाउने भ्याईनभ्याइ भने होईन । जाडो मौसममा अरुको सेवा गर्न भ्याईनभ्याई हुने गर्छ उनलाई ।
समाजसेवाको नाममा ठगेर खानेको कमी नभएको यो समाजमा गरीब, असहायलाई सहयोग गरेर उदाहारणीय पात्र बनेका छन् रौतहटका रिक्साचालक केदार तिमल्सिना । उनले अरुको सेवा गर्न धन नै चाहिन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन् । ई—रिक्सा चलाएर दिनभरीमा चारदेखि पाँच सय रूपैयाँ कमाएर परिवार पाल्दै आएका तिमल्सिना यतिखेर जाडोमा दलित बस्तीमा न्यानो कपडा बाँडदै हिडेका छन ।
दिनभरी यात्रु अनि उनीहरूको सामानको भारी बोकेर पसिना बगाए पछि मात्रै आफ्नो घरमा चुल्हो बल्ने स्थितिमा रहेका जिल्लाको चन्द्रपुर नपा– ४ कप्तान टोलका ४५वर्षीय केदारप्रसाद तिमल्सिना अहिले जिल्लाको उत्तरी भेगका अधिकांश दलित बस्तीहरूमा आफ्नै रिक्सामा कपडा राखेर बाँडदै हिडने गरेका छन ।
मुटु काम्ने जाडोमा न्यानो लुगा लगाउन नपाएर मान्छे कठ्यांग्रिएर मरेको देख्दा र सुन्दा निकै दुःख लागेकाले आफुले न्यानो कपडा बाँडने अभियान सुरु गरेको उनी बताउँछन् उनी भन्छन, ‘राज्यले गरीबलाई हेर्ने कहिले हो कहिले, मरे पछि राहत दिएर के गर्नु त्यसैले लुगा बटुलेर बाड्न शुरु गरें ।’
उनी रिक्सा चलाएरै बरु आफूले नखाईकन अरुको दुखमा सहयोग गर्न अगाडी बढ्छन् । मंगलबार उनले चन्द्रपुर ९ को मुसहर बस्तीमा गएर ८० जना भन्दा बढीलाई न्यानो कपडा बितरण गरे । केहीदिन पहिला चन्द्रपुर ८ मा मुसहर बस्तीमा समेत उनले न्यानो कपडा वितरण गरेका थिए । पुस लागेपछि मात्र उनले जिल्ला आधा दर्जन गाँउमा न्यानो कपडा वितरण गरेको बताए ।
जाडा बढ्दै गएकाले उनले न्यानो कपडाका लागी सामाजिक संजाल मार्फत दाताहरूसंग कुराकानी समेत गरिरहेको र थप कपडा आएपछि बाढ्दै जाने तराई एक्सप्रेसलाई बताए । यसअघिका वर्षहरूमा पनि शितलहर पीडित, बाढीपीडितहरूलाई उनले न्यानो कपडा, खाद्यान्न बितरण गरेका थिए ।
आफैं गरीबी र दुःखको भूमरीमा जीबिकोपार्जन गर्दै आईरहेका रिक्सा चालक तिमल्सिनाको मन भने कुनै अर्बपतिको भन्दा पनि विशाल छ ।
राज्यले पनि यस्ता मनकारी समाजसेवीको कदर गर्नुपर्छ, समाजले प्रोत्साहन गर्नुपर्छ । २०७९ पुस २० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here