अशोक पहाडी
चन्द्रपुर,२६ पुस । तराईको कठ्याङग्रीदो जाडोमा पिलपिले त्रिपाल मुनी आफ्ना ४ संन्तान सहित बस्छीन ४० बर्षकी बबिता कापरी । ६ बर्ष पहिला आफ्ना श्रीमानको मृत्यु भएपछि बबिता आफ्ना ४ सन्तानको लालन पालका लागि मागेर गुजारा चलाउछिन् ।
चिसो बढ्न थालेपछि बबिता आफ्नै घरको अवस्था देखेर चिन्तित भएकी छन् । मागेर जीवन गुजारा गर्दै आएकाले चिसो छेक्ने घरसमेत बनाउन सक्ने अवस्थामा छैनन् । उनी चन्द्रपुर नगरपालिका वडानं ५ मा पर्ने बागमती सिंचाई आयोजनाको नहरमा त्रिपालको छाप्रो बनाएर चार सन्तान सहित बस्दै आएकी छिन् । उनीसँग हावा, चिसो छेक्ने गतिलो घर छैन, आफ्नो नाममा एक धुर जमिन समेत छैन् १६ बर्ष पहिला सर्लाहीको झिम खोलामा आएको बाढीले आफ्नो भएभरको जग्गा जमिन बगाएपछि उनका श्रीमान मग्राती कापडी छिमेकीको साथ लागेर चन्द्रनिगाहपुर आएको थियो ।
४० बर्षकै उमेरमा बुढी देखिन थालेकी बबिताका १६ बर्षकी छोरी तिलिप्टी बोल्न नसक्ने लाटी छिन् । १४ बर्षका छोरा खेसारीलाल सुस्त मनस्थितीका छन् । ८ बर्षका छोरा भबिचन स्थानीय विद्यालयमा कक्षा १ मा पढने गरेकाछन् । कान्छा छोरा अमिताव पनि दाजुसंगै विद्यालय जाने गरेकाछन् । उनी सिसु कक्षामा पढने गरेकाछन् । मागेर भएपनि आफ्ना दुई छोरालाई पढाउने ढोको राखेकी बबिताको घरको अवस्था नाजुक रहेको छ । श्रीमानले दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसाले परिवार पाल्दै आउकी बबिताको श्रीमानको मृत्यु पछि उनी माग्ने पेसामा निर्भर भईन ।
गाँउघरमा गएर मागेर ल्याएको पैसाले ४ जना छोरा छोरीको लालनपालन गर्ने गरेको बबिताको भनाइ रहेको छ ।
काम गर्नका लागि आफ्नो सरिर कमजोर भएकाले छोरा छोरी पाल्नका लागि आफु बाध्य भएर माग्न थालेको उनको भनाइ रहेको छ ।
अहिले चिसो र शितलहरीबाट छोरा छोरी बँचाउन हम्मे परेको बेला उनीहरुलाई खुवाउन लागि माग्न समेत जानुपर्ने बाध्यता रहेको बबिताले तराई एक्सप्रेसलाई सुनाईन ।
चिसोमा बालबच्चा कहाँ राख्ने समस्या भइसक्यो उनले भनिन । टाउको पनि उठाउन नसक्ने प्लाष्टिकको त्रिपालको भरमा गुजारा चलाउदै आएकी बबिताका छोरा छोरीले राम्रो लगाउन र राम्रो खान समेत पाएका छैनन् ।
नहरको सो बस्तीमा उनको समुहदायका अन्यको समेत बसोवास रहेको छ । अरु काम गर्न सक्ने भएका कारण काममा गएर कमाएर ल्याउने गरेको भएपनि आफ्नो सरिरले काम नगर्ने भएकाले मागेर गुजारा चलाउनु परेको छ ।
’वर्षामा फुसको त्रिपाल चुहिएर बसिनसक्नु हुन्छ । चिसोमा बालबालिकालाई जोगाउनै मुस्किल हुन्छ । चिसो छाल्न रातभर आगो तापेर बस्नु पर्ने बाध्यता हुन्छ,’ बबिताले भनिन, ’चिसो सुरु भयो । अब हाम्रो विजोग हुन्छ ।
’हामीजस्तै समुदायले सरकारी तथा गैरसरकारी संस्थाबाट थुप्रै सुविधा पाइरहेका छन् तर हामीलाई कसैले पनि हेरेको छैन,’ सोही बस्तीका स्थानीय गगन कापडीको गुनासो छ, ’हाम्रो पक्षमा बोलिदिने कोही नभएकाले सबै पक्षबाट बेवास्ता गरिएको छ ।’सो बस्तीमा समुदायको राजनीतिक, आर्थिक, समाजिक र शिक्षालगायतका कुनै क्षेत्रमा पहुँच देखिंदैन । कुनै पक्षबाट सहयोग नभएका कारणले पनि उनीहरूको समस्या जस्ताको तस्तै रहँदै आएको छ ।
२०७९ पुस २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।



