रौतहट,९ माघ । रौतहटको वनबाट दाउराको नाममा काँचा सालका रुख काटेर लाने क्रम बढेको छ । बिषेश गरेर जाडोको बेलामा दाउराको नाममा वनबाट काँचा सालका लाथ्रा काटेर लाने गरेको वन कर्मचारीहरु बताउछन् । अरुदिनको तुलनामा शनिबारको दिन जंगलमा दाउरा काटन आँउनेको भिडनै लाग्ने गरेको चोचा सव वन डिभिजन कार्यालयका प्रमुख हिरोईत चौधरीले तराई एक्सप्रेसलाई बताए ।
चोचा वन क्षेत्रको नहरको छेउमा बसेको वन कर्मचारीहरुको टोलीले शनिबार दाउराको नाममा काटेर ल्याएका काँचा सालका लाथ्राहरु बरामद गरेको चौधरीको भनाइ रहेको छ । साईकल लिएर वनमा पस्न खोज्ने दर्जनौलाई आफुहरुले लखेटेको चौधरीले बताए । राजमार्ग दक्षिणको जंगल छाडेर दाउराको नाममा सालका काँचा लाथ्रा काटनेहरु राजमार्ग पुर्व तिर आँउन थालेपछि आफुहरुले राजमार्गमै बसेर कडाई गर्न थालेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।
शनिबार बिहानैबाट धन्सार वन डिभिजनका कर्मचारी पुर्व पश्चिम राजमार्गमा बसेर दाउरे लखेटदै गरेका थिए । उता चोचा वन डिभिजनका कर्मचारी बागमती सिंचाईको नहरमा बसेर साईकलमा दाउरा लिन जानेहरुलाई लखेटदै गरेका थिए ।
साना सान सालका रुख काटेर गोलिया बनाएर साईकलमा दाउरा भन्दै ल्याउनेहरुका कारण रौतहटको वनमा तिब्र रुपमा हानि नोक्सानी हुदै आएको जानकारहरुको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख कर्णले वनमा हुने चोरी तस्करी रोक्नका लागि आफुले हर सम्बत प्रयास गरेको बताए ।
पछिल्लो समय जिल्लाको वनबाट दाउराका नाममा जाने सालका लाथ्रा स्थानीय ईट्टा उद्योग र चिरान मिल सम्म पुग्ने गरेको छ ।
पछिल्लो समय ठुला रुख चोर्ने भन्दा साईकलमा काँचा सालका लाथ्रा काटेर लानेले आफुहरुलाई हैरान पारेको चोचा सव डिभिजन कार्यालयका प्रमुख हिरोईत चौधरीले बताए । २०७९ माघ ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।