अशोक पहाडी
चन्द्रपुर,१९ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका वडानं १ मा रहेको दोभान सामुदायीक वन उपभोक्ता समितिमा व्यापक रुपमा आर्थिक अनियमिता भएको छ ।
सो सामुदायीक वनमा २०७४ सालदेखी सो सामुदायीक वनमा साधारण सभा तथा भेला समेत हुन सकेको छैन । सामुदायीक वनको खातामा मौजाद रहेको नगद रकम समेत अध्यक्ष ,सचिव र कोषाध्यक्षले गैर उपभोक्तालाई चेक काटेर दिएका कारण सो सामुदायीक वनको खातामा अहिले रकम छैन ।
२०७४ सालमा बागमती सिंचाईले नहरको जमिनमा पर्ने काठ काटेको थियो । सो काठ बिक्रि बितरणबाट आएको १४ लाख रकम अहिले सम्म सामुदायीक वनका आम उपभोक्तालाई पदाधिकारीले देखाउन सकेका छैनन् ।
सो समयमा काटिएको काठको एक मुष्ट रकम सोही वडाका एक व्यापारीलाई समितिका पदाधिकारीले चेक काटेर दिएका थिए । सो रकम सापट दिईएको हो वा अन्य शिर्षकमा दिएको हो भन्ने बिषयमा अहिले स्थानीयहरु बिचनै बिवाद उत्पन्न भएको छ ।
स्थानीयका अनुसार दोभान सामुदायीक वनका अध्यक्ष सम्झना सोराली ,सचिव बिरबलकाजी बम्जन र कोषाध्यक्ष राम कुमार ठोकरले चन्द्रनिगाहपुर स्थित नेपाल बैंक लिमिटेडको खातामा रहेको १४ लाख रकम एक स्थानीय ठेकेदारलाई चेक काटेर दिएका थिए । अहिले स्थानीयले सो रकमको हिसाव किताव माग्दा सामुदायीक वनका पदाधिकारीले साधारण सभा समेत बोलायन नसकेको एकजना स्थानीय बासिन्दाले बताए । सो सामुदायीक वनमा ५ बर्ष देखी साधारणसभा तथा अडिटको काम समेत हुन सकेको छैन । स्थानीय उपभोक्ताले सामुदायीक वनको हिसाव किताव हिनामिना भएको साधारणसभा समेत नभएको भन्दै २०७८ सालमै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर निवेदन दिएको भएपनि सो कार्यालयले समेत वास्ता नगरेका कारण उपभोक्ता समितिका पदाधिकारीको मनोमानी बढदै गएको स्थानीय उपभोक्ताको भनाइ रहेको छ ।
तत्कालिन समयमा सिंचाईले काटेको काठ बेचेको रकमको हिसाव किताव हिनामिना भएको बेला अहिले रेल्वेले काटेको काठ समेत कसहिएर जाने अवस्थामा रहेको छ । दोभान सामुदायीक वन उपभोक्ता समितिको साधारणसभा र अडिट समेत नभएका कारण रेल्वेले काटेको ५ हजार क्युफिट काठ र ३५ चट्टा सालको दाउरा समेत बिक्रि बितरण नहुने अवस्थामा पुगेको एक स्थानीय उपभोक्ताले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
नेपाल रेल्बे कंम्पनीले कटान गरेको काठको जरा उखेले वापत सामुदायीक वन उपभोक्ता समितिको खातामा तीन लाख बढी रकम पठाएको भएपनि सो रकम समेत अध्यक्ष ,सचिव र कोषाध्यक्षले हिनामिना गर्ने सम्भावना रहेका कारण तत्काल अर्को कार्य समिति बनाउनुपर्ने स्थानीय उपभोक्ता समितिको भनाइ रहेको छ । यो बिषयमा स्थानीयले निवेदन दिदा समेत डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले कुनै चासो नदिएको स्थानीयको भनाइ रहेको छ ।
सो सामुदायीक वनमा भएको अनियमिताको बिषयमा आफुलाई कुनै जानकारी नभएको र अवका दिनमा आफुले सो सामुदायीक वनका विरुद्ध एक्सन लिने डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्णले बताए ।
समयमा साधारणसभा र हिसाव किताव सार्वजनिक नगर्ने साझेदारी वन माथि आफुहरुले कार्वाही प्रक्रिया अगाडी बढाएको र अवका दिनमा अनियमितामा संलग्न रहेका सामुदायीक वन माथि आफुहरु एक्सनमा उत्रने कर्णको भनाइ रहेको छ । पछिल्लो समय देभान सामुदायीक वनमा मात्र नभएर अन्य सामुदायीक वनमा समेत व्यापक आर्थिक अनियमिता मौलाउदै जान थालेको छ ।