मुकेशकुमार यादव
सिरहा, १० वैशाख। सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि शनिबार भएको उद्घाटनसत्रको खेलबाट मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ । गोलबजार नगरपालिका–२ गुरुधामस्थित एकीकृत खेलग्राममा सुरु पहिलो दिन मकवानपुर ११ हेटौंडाले गाइघाट फुटबल ब्लब उदयपुरलाई शून्यविरुद्ध एक गोलले पराजित गरेको हो । दोस्रो हाफको ६१ औं मिनटमा मकवानपुर ११ आयुष लामाले गरेको गोल नै निर्णयाक बन्यो । उद्घटानसत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले वर्षमा एकपटक गोल्ड कप गरेर खेलको विकास नहुने बताए । खेलको विकास र रक्षाको लागि खेल र खेलाडीहरुलाई निरन्तर अभ्यासको जरुरी रहेको बताउँदै उनले त्यसका लागि नगरपालिकाले पहलकदमी लिनुपर्नेमा जोड दिए।
मेयर गोल्डकपको लागि गोलबजार नगरपालिकाले २३ लाख रकम विनयोजन गरेको छ । गोल्ड कपमा प्रथम हुने टिमलाई दुई लाख ५१ हजार र दोस्रो हुने टिमलाइ १ लाख ५१ हजार रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ ।
मेयर गोल्ड कपमा देशभरका १० वटा टिम सहभागी रहेका छन् । मेयर गोल्ड कपको फाईनल खेल १८ गते हुने आयोजकले जनाएको छ ।
न्युज कारखाना