चन्द्रपुर,१५ बैशाख । रौतहटको बृन्दावन नगरपालिकाको बलेरीमा दैनिक जसो जंगली जनावर बंदेलको सिकार हुने गरेको छ ।
किसानले खेतमा लगाएको मकै खान आँउने बदेललाई पासोमा पारेर ,बन्दुकले हानेर सिकार गर्ने गरिएको स्थानीय बासिन्दाले बताए ।
प्रहरी चौकी बिश्रामपुर र बलेरीमा रहेको वन कार्यालयका कर्मचारीलाई सिकारले भाग पु¥याउने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
भाग पाएपछि वन कर्मचारीले प्रहरीले निर्वाध रुपमा जंगली जनावरको सिकार गर्न दिने गरेको स्थानीयले बताएका छन् ।
वन कर्मचारीले नियमित वन गस्ती नगरेका कारण जंगलमा सिकारीले जंगली जनावरको सिकार गर्ने क्रम बढेको स्थानीयको भनाइ छ । चन्द्रपुर नगरपालिकास्थित लमाहा, पहाडी फेदी, गुजराको मैढास्थित वन, वृन्दावनको वन क्षेत्रबाट नीलगाई, बँदेल, हरिण, मृग तथा दुम्सीलगायतका विभिन्न वन्यजन्तु र वनकुखुरा, लुइँचे, कालिजसहितका विभिन्न वनचरोको सिकार गर्ने गरेका छन् ।
सिकारीहरू दिनभरि जंगलमै बिताउने गरेको र कतिपय सिकारी समूह बनाएर राति पनि वन क्षेत्रमा जाने गरेको स्थानीयको भनाइ छ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले चोरी सिकारी बढेको आफूलाई जानकारी आएको र अबका दिनमा वनमा गस्ती बढउने बताए । जिल्लाको कटहरिया क्षेत्रमा सिकारीले नीलगाई मारेर जिल्लाका सहरी क्षेत्रमा हरिणको मासु भन्दै हजार रुपैयाँ किलोले बिक्री–वितरण गर्ने गरेको जंगलसहियाका स्थानीय बासिन्दा जुगलकिशोर चौधरीले बताए । पछिल्लो समय वनमा जंगली जनावर बढेसँगै सिकारी पनि सक्रिय भएका हुन् ।
सिकारीले मारेको जनावरको मासुको भाग सवडिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीले समेत लिने गरेको स्थानीयको भनाइ छ । केही दिन पहिला बलेरीको एक किसानको खेतमा सिकारीले बंदेल मारेको फोटो सामाजिक संजालमा भईरल बनेको छ । यतीबेला वनमा डढेलो लागेको र जंगली जनावरहरु गाँउ बस्ति नजिकैको मकै बारीमा आउने र सिकारीले त्यही मौकामा जंगली जनावरको सिकार गर्ने गरेको स्थानीय बासिन्दाले बताए । केही दिन पहिला जंगली बंदेलको मासु भन्दै एक समुहले १२ सय रुपैया किलोमा मासु बेचेको थियो । २०८० बैशाख १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here