चन्द्रपुर,२८ बैशाख । चन्द्रपुर १ मा रहेको दोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ५ बर्ष देखी समितिको साधारणसभा समेत नगरेको स्थानीयले बताएकाछन् । स्थानीयले पाँच बर्ष देखीको हिसाव किताव हुनुपर्ने माग राखेकाछन् ।
पाँच बर्ष देखी दोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको हिसाव किताव र साधारणसभा बोलाउनका लागि पटक पटक ताकेता गर्दा समेत समितिले कुनै वास्ता नगरेको स्थानीय एक उपभोक्ताले तराई एक्सप्रेसलाई बताए । बिगत लामो समय देखी समितिले पानीको महसुल समेत संकलन गर्न छाडेको छ । लामो समय देखी बिजुलीको बिल समयमा नतिरेका कारण नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरले बिजुलीको लाईननै काटिदिएको छ ।
विद्युतले लाईन काटेको भएपनि कर्मचारीको सेटिङमा पछिल्लो समय बिजुली जडान भएको छ । विद्युतको सिस्टममा लाईन काटिएको भएपनि सो स्थानमा बिजुली चालु रहेको छ । रेलको काम भईरहेको र सो स्थानमा पानीको आवस्यकता भएकाले रेलको ठेकेदारले सेटिङमा लाईन जडान गरेको अनुमान गरिएको छ ।
स्थानीयले संस्थाको आय व्यायको बिषयमा कुरा उठाउदै आएको भएपनि समितिका पदाधिकारी तथा अध्यक्षले कुनै वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ । स्थानीयले साधारणसभा तथा हिसाव किताव पारदर्सीताको माग गर्दै सम्बन्धीत निकायमा उजुरी गर्ने तयारी गरेको स्थानीय उपधोक्ताहरुको भनाइ रहेको छ । चन्द्रपुर १ मै रहेको दोभान सामुदायीक वन उपभोक्ता समितिमा भएको अनियमितताको बिषयमा समेत सम्बन्धीत उपभोक्ताले आवज उठाउदै आएको भएपनि समितिले टेरपुच्छर लगाउने काम गरेको छैन् । दोभान सामुदायीक वन उपभोक्ता समितिको चन्द्रनिगाहपुर स्थित नेपाल बैंकमा रहेको खाता रोक्का गर्ने तयारी भईरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत रामप्रसाद साहले जानकारी दिएकाछन् । दोभान सामुदायीक वन उपभोक्ता समिति र दोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पदाधिकारीमा एकै व्यक्ती रहेको स्थानीयको भनाइ रहेको छ ।