चन्द्रपुर,४ जेठ । ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) चन्द्रपुर नगर कमिटीले ३२ जना अग्रज नेताहरुलाई सम्मान गरेको छ । लामो समयदेखि नेकपा (एमाले) मा आवद्ध भएकाहरुलाई उनीहरुको योगदानको कदर गर्दै सम्मानित गरिएको नेकपा (एमाले) चन्द्रपुर नगर कमिटी उपाध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिए । सम्मानित व्यक्तित्वहरुलाई नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज पुरुषोतम पौडेल, केन्द्रिय सदस्य उद्धव रेग्मीले सम्मानपत्र एवम् गम्छा ओढाएर सम्मान गरेका थिए । आफुहरुलाई पार्टीले सम्झिएर सम्मान गरेकोमा निकै खुसी लागेको सम्मानित नेता भरत अधिकारीले प्रतिक्रिया दिए ।
पार्टीमा लागेपछि एकदिन कदर अवश्य हुन्छ भन्ने सन्देश यो सम्मानले दिएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलिय जनवादले समाज र देशलाई विकासको पथमा लैजाने कुरामा कुनै दुइमत नरहेको जनाए । उनले मदन भण्डारी र जीवराज आश्रितको मृत्युले देशले सम्भावना बोकेका नेताहरु गुमाउनु परेको स्मरण गर्दै उनीहरुको मृत्युले देशलाईनै ठुलो धक्का लागेको धारणा राखे ।
नेकपा (एमाले) चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव प्रसाद आर्चायले नगर कमिटीले पार्टीमा आस्था राख्नेहरुलाई सुख, दुःख सदैव साथ दिने लक्ष्य लिएको जनाउँदै अग्रजहरुको योगदानलेनै पार्टी वलियो बनेको बताए । उनले मदन–आश्रितले बनाएको पार्टीको जगलाई निरन्तर पार्टीमा लागेर अग्रजहरुले मजवुद पार्ने काम गरेकाले उनीहरुको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुनेमा जोड दिए । कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश कमिटीका उपसचिव आरती भण्डारी , सदस्यहरु बाबुराम दाहाल , कृष्ण तिमल्सिना , विर बहादुर गोले , टेकनाथ खरेल , जिल्ला संयोजक सचिदानन्दन साह , जिल्ला कमिटीका सदस्यहरु , नगर कमिटीका सदस्यहरु , जनवर्गिय संगठनका सदस्यहरु लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको नगर कमिटी सचिव राम सिंहासन यादवले जानकारी दिए ।