अशोक पहाडी
चन्द्रनिगाहपुर,१५ जेठ । ठेक्का सकार गरेको तीन बर्षमा बन्नु पर्ने पुल ७ बर्षमा पनि नबनेपछि स्थानीयले पुल तत्काल निर्माणको माग सहित रिले अनसन थालेकाछन् । रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुर गैँडाटार जोडने चाँदी नदीको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई समस्या हुने गरेको छ । ३ बर्षमा काम सम्पन्न गर्नुपर्ने चन्द्रनिगाहपुर गैँडाटार जोड्ने चाँदी खोलामा बन्दै गरेको पुल ७ बर्ष पुग्न लाग्दा समेत बन्न सकेको छैन ।
चाँदी खोलाको पुल समयमा बनाउन माग राख्दै रौतहट क्षेत्र नं–४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले पटक–पटक संसदमा कुरा उठाउँदै आएका छन् । चाँदी खोलाको काम समयमा नगर्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुरले पटक–पटक म्याद थप गरेका कारण ठेकेदारको मनोमानी बढेको चन्द्रपुर–३ का वडाअध्यक्ष बोधनाथ देवकोटाको भनाइ रहेको छ । चन्द्रनिगाहपुर गैँडाटार जोड्ने पुल निर्माणको जिम्मा पप्पु शिव शंकर जेभीले पाएको थियो । उक्त पुल ४ सय ६९ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ रहेको छ । ११ ओटा स्पाम रहेको पुल दुई पटक म्याद थप गरेर २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो । पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको हो ।
पटक–पटक म्याद थप भए पनि सो पुल बन्न सकेको छैन । निर्माण कम्पनीको चरम लापरबाहीले समयमा पुल निर्माण सम्पन्न हुन नसकेको गैँडाटारका स्थानीय वासिन्दा लालबहादुर दोङले बताए । निर्माण कम्पनीले प्रतिबद्धता अनुसार काम नगरेको र अझै चारवटा स्पाम ढलान बाँकी रहेको उनले बताए । निर्माण कम्पनी तथा डिभिजन सडक कार्यालयलाई पटक–पटक ताकेता गरेपछि काम सुरु गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ की स्थानीय गोबिन्द तिमलसिनाले बताए । पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएर २०७३ पुसदेखि काम थालनी गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसाद साहले बताए । उनका अनुसार कोरोना, निर्माण सामग्रीको अभाव, बजेट जस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको हो । पुलको काम हालसम्म करिब ७० प्रतिशत मात्र सम्पन्न भएको छ ।
पुल नबन्दा हरेक बर्ष बर्षा याममा गैँडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा चाँदी खोलाले बगाएर मान्छेको ज्यान जाने गरेको छ । फेरी बर्षाको समय आयो पुल बनेन त्यसैले हामीले रिले अनसान थालेका हौ,स्थानीय गोबिन्द तिमलसिनाको भनाइ रहेको छ । आईतबार बिहानबाट सुरु भएको रिले अनसन सुरु भएको हो । स्थानीयले ठेकेदारसंग मिलेमतो गर्ने चन्द्रनिगाहपुर स्थित सडक डिभिजन कार्यालयका प्रमुख र साईड ईन्जिनियरको सरुवाको माग गरेकाछन् । २०८० जेठ १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here