रौतहट,३१ जेठ । चन्द्रनिगाहपुर स्थित चाँदी खोलाको छेउमा रहेको सन्तानेश्वर महाँदेवको मन्दिर ,धर्मशाला र मान्छे मर्दा खोलामा जानेबाटोनै एकजना घरधनीले छेकीदिएका छन् । स्थानीयले सो बिषयमा चन्द्रपुर नगरपालिका वडानं ५ मा लिखित जानकारी गराउँदा समेत वडा कार्यालयले कुनै चासो नदिएको स्थानीय समाजसेवी तथा सन्तानेश्वर महादेव मन्दिर संचालक समितिका अध्यक्ष शम्भु भट्टराईले गुनासो गरेकाछन । गरुडाका एक व्यापारीले आफ्नो जमिनमा घर बनाएको तर मन्दिर,घाट र धर्मशाला जाने बाटोनै बन्द गरिदिएका हुन । घर धनीले आफ्नो घर अगाडीको आँगन ढलान गरेपछि त्यहाँ जाने बाटोनै बन्द भएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सो बिषयमा स्थानीयले संघिय संसद देवप्रसाद तिमलसिनालाई समेत जानकारी गराएको भएपनि कहीँकतैबाट सहयोग नभएको स्थानीय युवा बिमल भट्टराईको भनाइ रहेको छ ।
सम्बन्धीत निकायले मन्दिर,घाट र धर्मशाला जाने बाटो सहज बनाईदिन स्थानीयले आग्रह गरेको भएपनि कहीँकतैबाट सो बिषयमा कसैले चासो नदिएको भन्दै स्थानीयले चिन्ता जाहेर गरेकाछन् । २०८० जेठ ३१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।