चन्द्रपुर,३२ जेठ । रौतहटमा ट्राफिक व्यावस्थापन फितलो भएका कारण सवारी दुर्घटनाका घटना दिनप्रतिदिन बढदै जान थालेको छ । रौतहटमा पूर्व पश्चिम राजमार्ग, वीरेन्द्र राजमार्ग गरेर दुईवटा मुख्य राजमार्ग रहेका छन् ।
राजमार्ग छेउछाउका स्थानहरु शहरीकरणले गर्दा बाक्लो बस्ती अनि जनघनत्व रहेको छ । यी राजमार्गमा रौतहट ट्राफिकले दुर्घटना न्युनिकरण गर्नुको साटो राजमार्गमा बसेर रकम असुल्ने काम गर्ने गरेको सवारी चालकहरुको भनाइ रहेको छ । सोमबार चन्द्रनिगाहपुरको मुनलाइट एकेडेमी अगाडी भएको दुर्घटनामा परेर चन्द्रनिगाहपुरका एक स्थानीय बासिन्दाको ज्यान गएको छ । चन्द्रनिगाहपुर स्थित चाँदी खोला देखी चन्द्रनिगाहपुर स्थित ट्राफिक पोष्ट सम्म बजार एरियामा सवारी साधान तिब्र गतिमा गुड्दा समेत चोक डिउटीमा रहने ट्राफिक प्रहरी कानमा तेल हालेर बस्ने गरेका कारण सवारी दुर्घटना बढेको स्थानीयको भनाइ रहेको छ ।
सोमबार दिउसो बागमती प्रदेश १०१७ च ८१५६ नम्बरको तिब्र गतीमा गुडेको कारले ठक्कर दिदा मोटर साईकलमा सवार रहेका चन्द्रनिगाहपुरमा बसोवार गर्नें गोर्खा घर भएका शंखरबाबु थापा मगरको उपचारका क्रममा काठमाण्डौमा ज्यान गएको थियो । सोही कारको ठक्करबाट नेपाली काँग्रेस रौतहटका युवा नेता नितेश गुप्ता घाईते भएकाछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी बसेर साँझ र बिहानको समय ट्राफिक प्रहरीले गाडी रोकेर बिभिन्न बाहाना बनाउदै रकम असुल्ने काम गर्ने गरेको सवारी दुर्घटना न्युनिकरणको बिषयमा चासो नदिएको एकजना सवारी चालकले बताए ।
बढ्दो जनघनत्व र सवारी चापलाई व्यवस्थापन गर्ने गरी पार्किङ व्यवस्था कतैपनि गरिएको छैन । जिल्लाभरी नै सवारी साधनहरु सडकमै पार्किङ गरिन्छ भने सडकमै हाटबजार लाग्छन् । जसले सडक साँघुरिएर पैदल यात्रु सडकबाटै हिड्नुपर्ने वाध्यता गर्दा सवारीसाधनले ठक्कर दिएर हुने दुर्घटना पनि बढ्दो क्रममा रहेको छ ।
त्यसैगरी बसपार्क नहुँदा साना तथा ठूला सवारी साधनहरु सडकको दायाँबायाँ राखेर यात्रु चढाउने ओराल्ने गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ । यता स्थानीय सरकार प्रमुख भने आफूहरु पार्किङलाई व्यवस्थित गर्न बसपार्क बनाउन लागिरहेको बताउँछन् ।
पछिल्लो समय रौतहट ट्राफिकको काम चन्द्रनिगाहपुर बागमती सडक खण्डमा बिहान बेलुका धराप थापेर पैसा असुल्नु ,चन्द्रनिगाहपुर गौर सडक खण्डको बिभिन्न स्थानमा त्यसैगरी धराप थाप्दै रकम असुल्दै गर्ने गरेको जानकारहरुको भनाइ रहेको छ ।
धेरै पैसा कमाइ हुने बागमती ,गरुडा लगाएतका स्थानमा जानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हानाथापनै हुने गरेको जानकारहरुको भनाइ छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट बागमती र गरुडामा धेरै पैसा असुल उपर हुने चन्द्रनिगाहपुर स्थित ट्राफिक प्रहरी कार्यालय अगाडीको राजमार्गमा दैनिक डिउटीमा खटिका लागि समेत ट्राफिक भित्रै मारामार हुने गरेको समाचारस्रोतले बताएको छ ।