रौतहट,३ असार । जिल्लाको कटहरिया नगरपालिका पछिल्लो समय बिभिन्न कारणले चर्चामा आँउने गरेको छ ।
सो नगरपालिकाका मेयर उप मेयर बिचको बिवाद समाजिक संजालमा छाताछुल्ल भएर चर्चामा आएको कटहरिया नगरपालिका पछिल्लो समय बेरुजुका कारण चर्चामा रहेको छ । कटहरिया नगरपालिकाको बेरुजु ५८ करोड नाघेको छ । वर्तमान मेयर अजय प्रकाश जैसवाल र निवर्तमान मेयर सियाराम कुशवाहाको पालाको गरी कटहरिया नगरपालिकाको हालसम्म कुल बेरुजू ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ देखिएको हो ।
आर्थिक वर्ष २०७८–०७९ अर्थात मेयर जैसवालको पालमा मात्र १ वर्षको अवधिमा १८ करोड ८५ लाख ८८ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो मध्ये असुल उपर हनु पर्ने बेरुजु १ करोड ४६ लाख ५० हजार रहेको छ ।
मेयर अजय प्रकाश जैसवालको पालमा मात्र १ वर्षको अवधिमा ७० लाख भन्दा बढीको इन्धन खर्च देखाइएको छ । स्थानीय बासिन्दा तथा उप मेयर ईन्धनमा भएको खर्चको बिषयमा पटक पटक कुरा उठाउँदै आएको भएपनि मेयरले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । यो भन्दा पहिलाका मेयर र उप मेयर बिच कार्यकालभरीनै विवाद रहेको सो नगरपालिकामा एक बर्ष पहिला चुनाव जितेर आएका मेयर र उप मेयर बिच पनि लफडा भएका कारण सो नगरपालिकाको विकासको काम प्रभावित बन्दै गएको स्थानीयको भनाइ रहेको छ ।