चन्द्रपुर,१२ असार । रौतहटका सामुदायीक वनमा पछिल्लो समय व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको छ । वन कर्मचारी र सामुदायीक वनका पदाधिकारीकै मिलेमतोमा सामुदायीक वनबाट काठ चोरी तस्करी हुने गरेको स्थानीयको भनाइ रहेको छ । पछिल्लो समय चन्द्रपुर नगरपालिका वडानं १ र २ मा रहेका सामुदायीक वनबाट काठ चोरी तस्करी हुदै आएको छ ।
केहीदिन पहिला चन्द्रपुर नगरपालिका वडा नं. १ मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दण्डवहादुर पुलामीकै मिलेमतोमा गैरी गाउमा सुकेको एउटा ठाडो रुख काटिएको भन्दै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा उजुरी प¥यो । सो वडाका वडाअध्यक्ष बलराम राउतको नेतृत्वमा अध्यक्ष पुलामीको मिलेमतोमा ठाडो रुख काटिएको भन्दै उजुरी परेको दुई दिनपछिनै वडाअध्यक्ष राउतकै मिलेमतोमा सो रुख काटिएको भन्दै जनसेवा सामुदायीक वनका पदाधिकारीले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए ।
सो बिषयमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरनै अलमलमा परेको छ । कस्ले ठाडो रुख काटेको हो भन्ने बिषयमा वनले तत्काल छानबिन नगरेका कारण स्थानीयहरु एकले अर्कोलाई दोष लगाउदै दोषि उम्काउने खेलमा लागेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । मा काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बनेको छ । वनका कर्मचारीले तस्करीको काठ र त्यसको ढुवानीमा प्रयोग हुने सवारी बरामद गरे पनि तस्करहरू भने सधैं उम्किने गरेका छन् । अर्कोतर्फ पक्राउ परेका तस्करहरू पनि बरामद काठको बिगोअनुसार धरौटी राखेर छुटिहाल्ने वनका कर्मचारी बताउँछन । उनीहरू फेरि पुरानै काममा संलग्न हुने गरेका छन्, जसका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।रौतहटका विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा साझेदारी वन उपभोक्तासमूहकै पदाधिकारीको मिलेमतोमा ति बनमा व्यापक रुपमा हानीनोक्सानी हुदै आएको छ । अनियमित रुपमा आर्थिक अनियमितता गर्ने र समयमा साधारण सभा समेत नगर्ने सामुदायिक वन उपभोक्ता समूह माथि डिभिजन वन कार्यालयले कारवाही प्रक्रिया अगाडि नबढाएका कारण ति सामुदायिक वन उपभोक्ता समूह समिति व्यक्तिको कब्जामा रहेको भन्दै विगत लामो समयदेखि विरोध हुदै आएको छ ।
चन्द्रपुर नगरपालिका वडानं १ र २ मा रहेका सामुदायीक वनमा हुने काठ चोरी तस्करीमा सहायक वन अधिकृत सुरेश महतोको मिलेमतो रहेने गरेको स्थानीयको भनाइ रहेको छ । वन कर्मचारी स्रोतका अनुसार सहायक वन अधिकृत महतोले केही दिन पहिला बागमती नदिमा आएको बाढीले बगाएर ल्याएको कामै नलग्ने दाउरा बोकेको एउटा सानो गाडी पक्राउ गरेर नगद नजराना बुझेर चार दिन पछि छाडेका थिए । उनले सो काठ सहित पक्राउ परेका तीन जना छुटाउन पैसा लिएको वन कर्मचारीको भनाइ रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटको सव डिभिजन वन कार्यालय बागमती र जुडिबेला हेर्ने अधिकार पाएका महतोले आफ्नो पंहुच प्रदेश सरकार देखी संघ सरकार सम्म रहेको भन्दै कसैलाई टेरपुच्छर नलगाउने गरेको वन कर्मचारीहरुको भनाइ रहेको छ । २०८० असार १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।
महतोले केही महिना पहिला एउटा पुरानो घर उखालेर लानका लागि माटो रकम लिएका थिए । पछि सुराकीकाका आधारमा अर्को वन टोलीले सो ट्रक पक्राउ गरेको थियो । सो ट्रक अहिले डिभिजन वन कार्यालयमा रहेको छ । ट्रक धनी भने यतीबेला ट्रक वनले पक्राउ गरेपछि सुकुम्बासी भएका छन् ।