चन्द्रपुर,१३ असार । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित नुनथर बस्तिका बासीले राष्ट्रिय भुमी आयोगबाट नापी नक्सा पाउनु पर्ने माग गरेका छन् ।
करिव ३८ बर्ष देखि बसोबास गर्दै आएका सो बस्तिका बासिन्दाले आयोगको फाराम नियमनुसार भरेको भएपनि वडा कार्यालय सिफारिस नगरेका कारण समस्या भएको गुनासो गरेका छन् ।
आफुहरुले भोगचलन गरेको ऐलानी जमिनको राजश्व (तिरो) तिर्दै आएको भएको पनि हाल वडा कार्यालयले यस प्रति कुनै चासो नदिएको बस्तिका बासिन्दाको आरोप छ ।
पर्यटकिय क्षेत्र नुनथरमा घुम्न आउने पर्यटकका लागि खाना र खाजाका पसल संचालन गर्दै आएका उनीहरुले आफनो मागको सुनुवाई नभएकाले वाध्य भएर सर्घष समिति गठन गरेको बताएका छन् । धेरै बर्ष पुरानो बस्ति भएकाले यसलाई व्यवस्थित गर्दै आयोगले नापी नक्सा गर्नु पर्ने माग सर्घष समितिको छ । पटक पटक वडा कार्यालयलाई यस बिषयमा ध्यानकर्षण गर्दा समेत कुनै किसिमको सुनुवाई नभएको स्थानिय सन्तोष दाहालले बताए ।
उनका अनुसार आफू पनि यस क्षेत्रमा बर्षौ देखि बस्दै आएकाले व्यवस्थित गर्नु पर्ने अडानमा रहेको उल्लेख गरे । यसअघिका वडा अध्यक्षले यस बिषयमा चासो दिएको भएपनि अहिलेले कुनै सुनुवाई नगरेकोमा उनले दुखेसो गरे । आफुहरुको माग प्रति सम्वन्धित निकाय गम्भिर नभएका कारण आन्दोलनका कार्यक्रम गर्ने सर्घष समितिका संयोजक श्रवण लामाले बताए ।
बर्षौ देखिका पुस्ता यहाँ बसोबास गरेको उल्लेख गर्दै अहिले हटाउने प्रयास भएकाले त्यसमा आफुहरुको आपति रहेको उनको भनाई छ । २०६९ साल देखि यहाँको ऐलानी जमिनमा बसोबास गरेका घरधुरीले वडालाई तिरो तिर्दै आएकाले वडा कार्यालयले भुमी आयोगमा नापी नक्साका लागि सिफारिस गर्नु पर्ने उनको माग छ । चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले त्यो नुनथर क्षेत्र विकास समितिको क्षेत्र अधिकार भित्र पर्ने भएकाले कुनै सिफारिस गर्न नमिल्ने बताए ।
आफू नियमनुसार कार्य गर्ने भएकालेक्षेत्र विकास समितिसंग समन्वय गर्न उनले आग्रह गरे । तर स्थानियले भने वडा अध्यक्ष राउतका कारण सो प्रक्रिया अघि बढेन नसकेको अरोप लगाएका छन् । सवै कागजी प्रक्रिया अघि बढेको भएपनि वडा अध्यक्ष गम्भिर नहुँदा समस्या भएको उनीहरु बताँउछन् । राष्ट्रिय भुमी आयोग रौतहटले नियमनुसार परेका निवेदनका आधारमा कार्य प्रक्रिया अघि बढाउने बताएको छ ।