अशोक पहाडी
रौतहट,१६ असार । दाईजोको निउमा रौतहटमा बालिका सहित एक महिलाको हत्या भएको छ ।
जिल्लाको मौलापुर नगरपालिकामा श्रीमान सहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको हत्या गरेको मृतक महिलाको माइती पक्षले आरोप लगाएकाछन ।
मौलापुर नगरपालिका वडा नम्वर ४ बौधा पतौरा धिरेन्द्र साहको २४ बर्षिय माला भन्ने कविता साह र उनकी २ बर्षकी छोरी आरोही साहको शुक्रवार राति परिवारका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेका हुन ।
तीन बर्ष अघि समाजिक रितीरिवाज अनुसार माधवनारायण नगरपालिका ५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको विहे मौलापुर नगरपालिका ४ बौधा पतौरा गाउँका नागेन्द्र साहको छोरा धिरेन्द्र साहसंग गरिदिएका थिए ।
विहे अघि कबोल गरेको दाइजो दिन नसकेका कारण आफ्नी छोरी र नातीनीको हत्या गरेको मृतकका बाबु विजयशंकर साहले बताए ।
मोटरसाइकल, पलंग, भैंसी, सिक्री माईतीबाट लिएर आईज भन्दै ज्वाईले छोरी माथि दवाव दिदै आएको र आफुले दिन नसकेका कारण नातीनी सहित छोरीलाई कुटी कुटी मारेको साहको भनाइ रहेको छ ।
ज्वाई धिरेन्द्रको परिवारले शुक्रबार राति १२ बजेको समयमा छोरीलाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेपछि भर्यांगमा झुण्डयाइएको र १८ महिने नानीलाई घरको पंखामा झुण्डयाएर मारेको उनले बताए ।
मृतक बुवा विजयशंकरका अनुसार विहान ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीलाई ज्वाईका परिवारले कुटेर हत्या गरेको जानकारी दिएको साहको भनाइ रहेको छ ।
आफुले त्यसपछि प्रहरीलाई खवर गरेर मौलापुर पुगेको साहले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगर घटना भएको स्वीकार्दै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको बताए ।
श्रीमती र छोरीको हत्या पछि धिरेन्द्र साह र उनको परिवारका सदस्य फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख बुढामगरले जानकारी दिए ।