२२ असार, काठमाडौं । असार लागेपछिको २१ दिनको अवधिमा सरकारले साढे २७ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असारयता बिहीबारसम्म २७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । पूँजीगत खर्चमा सुस्त गति रहेकोमा असारपछि भने गति बढेको छ । जसले गर्दा यस पटक पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो रकम खर्च हुने प्रवृत्ति दोहोरिएको छ ।